सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले निर्वाचनको समयमा सुरक्षा अवस्था अनुसार तत्काल परिचालन हुन निर्देशन दिएका छन्। निर्वाचनको समयमा नेपाल प्रहरी वा अन्य कर्मचारीलाई सहयोग आवश्यक परे माथिको आदेश नपर्खि तत्काल खटिन र पछि मात्रै जानकारी गराए हुने महानिरीक्षक अर्यालले भनेका हुन्।
माघ २७ र २८ गते गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा महानिरीक्षक अर्यालले भने, ‘भूकम्प जस्ता प्रकोपमा स्वतः परिचालन भएजस्तै निर्वाचनको समयमा पनि अन्य निकायका सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक परेको खण्डमा स्वतः परिचालित हुनू र परिचालन पश्चात मुख्यालयमा जानकारी गराउँदा हुन्छ।’
उनले परिचालनका लागि आदेश नकुर्न भनेका छन्। ‘आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्, आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो’, महानिरीक्षक अर्यालले निर्देशन दिए।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की मातहत परिचालन हुने निर्वाचन प्रहरीलाई समेत पूर्ण आत्मविश्वासकासाथ निर्वाचन सुरक्षामा खटिन निर्देशन दिएका छन्।
स्याङजा र पाल्पा जिल्लाका सशस्त्र प्रहरी बल नेपालका युनिटहरू पुगेर निर्वाचन सुरक्षाबारे जानकारी लिँदै अर्यालले स्याङजास्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्तरीय सुरक्षा समितिको पदाधिकारीसँग निर्वाचनको सुरक्षाबारे छलफल गरेका थिए।
निर्वाचन विथोल्न खोज्नेहरूको प्रयास विफल बनाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीबीच समन्वय र सहकार्य जरुरी रहेको बताउँदै निश्पक्ष निर्वाचन र मतदाताको सुरक्षामा कुनै कमीकमजोरी नगर्न निर्देशन दिए।
यसैगरी महानिरीक्षक अर्यालले स्याङजाको वालिङस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म र निर्वाचन सुरक्षा बेश गल्याङ र सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पा पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै थप निर्देशन दिएका थिए।
बुधबार गुल्मी जिल्लाको शान्ति सुरक्षा, निर्वाचन तयारीबारे पनि जानकारी लिएका छन्। आईजीपी अर्यालले लुम्बिनी प्रदेशमा समेत निर्वाचन तयारीबारे स्थलगत भ्रमण, अनुगमन तथा जानकारी लिएका छन्।
यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सुदूरपश्चिम प्रदेश अन्तर्गत नं. ७ बाहिनी मातहत सशस्त्र प्रहरी बल नेपालका युनिटको अनुगमन गरी निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन्।
Shares

प्रतिक्रिया