समाज


महानगरको नयाँ फिचर: शिक्षकको ठगी रोक्न ‘फेस रिडिङ’ हाजिरी प्रणाली

महानगरको नयाँ फिचर: शिक्षकको ठगी रोक्न ‘फेस रिडिङ’ हाजिरी प्रणाली

नेपालखबर
माघ २१, २०८२ बुधबार १४:२२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयको शैक्षिक र प्रशासनिक सुधारका लागि एकीकृत हाजिरी प्रणाली कार्यान्वयनमा ल्याएको छ। महानगरको शिक्षा र सूचना प्रविधि विभागले आन्तरिक जनशक्ति प्रयोग गरी विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीका लागि आफ्नै सफ्टवेयर विकास गरेको हो।

नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा जनकल्याण, टङ्गाल, गीतामाता, ज्ञानोदय, तरुण, रत्नराज्य, पद्मोदय, जनपथ र विश्व निकेतन माध्यमिक विद्यालयका कर्मचारी तथा शिक्षकको जैविक विवरण (फेस रिडिङ) दर्ता भइसकेको छ। अहिले विद्यार्थीहरूको तथ्याङ्क प्रविष्ट गर्ने कार्य भइरहेको महानगरको शिक्षा विभागका निमित्त प्रमुख केशवप्रसाद ज्ञवालीले जानकारी दिए।

महानगरले सबै विद्यालयलाई प्रणाली सञ्चालनका लागि 'युजरनेम' र 'पासवर्ड' उपलब्ध गराइसकेको छ। 'यो प्रणालीको सबैभन्दा ठुलो उपलब्धि भनेकै हामी प्रविधिमा आत्मनिर्भर हुनु हो,' सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले भने, 'अब सामान्य प्राविधिक सेवाका लागि पनि परामर्शदाताको मुख ताक्नु पर्दैन।'

केन्द्रीय निगरानी र अभिभावकलाई सूचना विद्यालयहरूले आफ्नै कार्यालयबाट डेटा इन्ट्री, अपडेट र रिपोर्ट तयार गर्न सक्ने भए तापनि यसको प्रत्यक्ष निगरानी (रियल टाइम मोनिटरिङ) महानगरको केन्द्रीय प्रणालीबाट हुनेछ। 

सूचना प्रविधि अधिकृत इन्जिनियर माधव खनालका अनुसार यो प्रणालीलाई आगामी दिनमा सरकारी लेखा प्रणालीसँग समेत आबद्ध गरिनेछ। व्यक्तिगत प्रोफाइलका रूपमा समेत प्रयोग हुने यस सफ्टवेयरमा विद्यार्थीले आफ्नो विवरण आफैँ हेर्न मिल्ने सुविधा छ। महानगरले आगामी दिनमा विद्यार्थी विद्यालयमा अनुपस्थित हुनासाथ अभिभावकको मोबाइलमा स्वचालित सूचना जाने गरी प्रणाली विकास गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad