नेकपा (एमाले)ले प्रतिनिधि सभाको निर्वाचनमा भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै पनि नबनेको औंल्याएको छ।
एमालेको केन्द्रीय निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले बुधबार प्रेस विज्ञप्ति जारी गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। ‘भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार छैन,’ विज्ञप्तिमा भनिएको छ।
सरकारले भयरहित रुपमा मतदान गर्न वातावरण बनाउन पहल नगरेको पनि एमालेको आरोप छ। ‘प्रत्येक मतदाताले मतपेटिकासम्म समान ढंगले सहज पहुँच र सुरक्षित वातवारणमा मतदान गर्न पाउनु उसको संवैधानिक अधिकार हो तर आजका दिनसम्म सरकारले भरपर्दो र विश्वासिलो वातावरण बनाउन सकेको छैन र त्यतातर्फ गम्भीर बनेको पाइएको छैन,’ एमालेले भनेको छ।
जेनजी आन्दोलनका क्रममा भागको कैदीबन्दी, लुटिएका हातहतियारले सुरक्षा चुनौती थपिएको एमालेको ठहर छ। काठमाडौँ लगायतका देश विभिन्न भागमा भएका लुटपाटका घटनालाई एमालेले उदाहरण दिएको छ।
यस्तै एमालेले निर्वाचन आचारसंहितको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ। एमालेले भनेको छ, ‘राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता, शान्ति-सुरक्षामा खलल पुग्ने गरी भइरहेका अवाञ्छित गतिविधि र समुदायलाई उत्तेजित बनाउने भड्काउपूर्ण व्यवहार र प्रचारप्रसारको शैलीप्रति निगरानी बढाउन र स्थापित कानुनी मापदण्ड अनुसार कानुनी दायरामा ल्याउन सम्बन्धित पक्षसँग् नेकपा (एमाले) विनम्रतापूर्वक अनुरोध गर्दछ।’


Shares

प्रतिक्रिया