ad ad

समाज


किट अभावले कोराना परीक्षण रोकियो

किट अभावले कोराना परीक्षण रोकियो

शेरबहादुर सिंह
बैशाख २६, २०७७ शुक्रबार १०:१९,

सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ।

पीसीआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षण रोकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

‘संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पठाउने कुरो छ।’ उनले भने, ‘आज रातिसम्म आइपुग्ला।’

किट अभावकै कारण धनगढीस्थित पशुपक्षी अन्वेशण प्रयोगशालामा केही समयअघि स्थापना गरिएको आरटी–पीसीआर मेशिनमार्फत हुने कोरोना परीक्षण हुँदै आएको थियो।

‘किट अभावका कारण प्रयोगशालामा ल्याइएका ५५ वटा स्वाबको जाँचसमेत हुन सकेको छैन।’ निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले रासससित भने, ‘हाल सुदूरपश्चिम प्रदेशमा पिसिआर प्रविधिबाट धनगढीमा मात्रै परीक्षण हुँदै आएको छ।’

सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसिआर मेशिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो।

‘पहाडका ती दुई जिल्लामा सम्भाव्यता अध्ययनको काम सकिएको छ।’ उनले भने, ‘प्रदेश सरकारले त्यहाँबाट पनि जाँच गर्ने गृहकार्य गरेको छ।’

बिहीबारसम्म सुदूरपश्चिममा दुई हजार ९२३ जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको छ।

जसमा ५५ जनाको किट अभावले परीक्षण भएको छैन भने पाँचजनाको कोरोना पोजेटिभ र बाँकी सबैको नतिजा नेगेटिभ आएको थियो।

संक्रमित पाँचमध्ये चारजना निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ।

‘परीक्षणका लागि यसअघि सुदूरपश्चिमा एक हजार किट केन्द्रबाट आएको थियो।’ जोशीले भने, ‘अहिले अरु स्वास्थ्य सामग्रीको अभाव छैन।’

उनले मास्क, पिपिइलगायत स्वास्थ्य सामग्री मौज्दात रहेको बताए।

‘१४ दिन क्वारेन्टाइन बसेपछि कोरोना जाँच गर्ने निर्देशिकामा भनिएको छ।’ उनले भने, ‘उहाँले किट नहुँदा समस्या भएको बताउनुभयो।’

किट अभाव हुँदा परीक्षणदेखि नमूना संकलनको कामसमेत प्रभावित बन्न पुगेको छ।

पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसिआर र ¥यापिट टेष्टबाट हालसम्म १७ हजार ५२४ जनाको कोरोना परीक्षण गरिएको छ।

सुदूरपश्चिमका नौवटै जिल्लामा स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा बिहीबारसम्म तीन हजार ३७४ जना बसिरहेको निर्देशनालयले जनाएको छ।

‘क्वारेन्टिनमा बसेकाहरुको स्वाब लिएर परीक्षण गर्न बाँकी छ।’ जोशीले भने, ‘पहाडी जिल्लामा क्वारेन्टिनमा थपिने क्रम बढिरहेको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .