सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
गौडैता र चन्द्रनगरमा भएका दुर्घटनामा एक युवक र एक वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
गोडैता नगरपालिका- ४ रहुवास्थित हुलाकी सडक खण्डमा गडहियाबाट बगदहतर्फ जाँदै गरेको म.प्र.०३-००१ त ७९०५ नम्बरको उखु बोकेको ट्रयाक्टरका चालकको उखुले थिचेर मृत्यु भएको हो।
ट्याक्टरलाई ब्रेक लगाउने क्रममा उखु ट्रलीबाट झर्दा चालक रौतहटको राजदेवी ननगरपालिका ६ मोहनपुर बस्ने ३० वर्षीय राजु पटेल गम्भीर घाइते भएका थिए।
उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। पटेलको शव हाल पोस्टमार्टमका लागि मलंगवामै राखिएको छ।
त्यसैगरि चन्द्रनगर गाउँपालिका २ बिर्ताटोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
शुक्रबार साँझ बिर्ताबाट बर्कुरवातर्फ जाँदै गरेको बीआर ३० एपी ३०३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय श्याम सुन्दर ठाकुरकी पत्नी ६५ वर्षीया शान्ती देवी ठाकुरको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचार गरि थप उपचारको लागि वीरगन्ज लगिएको थियो।
उपचारकै क्रममा उनको वीरगन्ज न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया