समाज


कति बढ्यो नेपाल प्रहरीको रासन भत्ता?

कति बढ्यो नेपाल प्रहरीको रासन भत्ता?

नेपालखबर
माघ १५, २०८२ बिहिबार १९:४०, काठमाडौँ

सरकारले नेपाल प्रहरीको रासन स्केल र रासनवापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको रासन स्केल र रासनबाफतको रकम बढाउने  निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। मन्त्रिपरिषद्को बैठकपछि निर्णय सुनाउँदै अर्यालले भने, ‘मिति २०८२/११/१ देखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरियो।’

सरकारको निर्णयअनुसार, अब फागुन १ गतेदेखि नेपाल प्रहरीका सकल दर्जाले दैनिक रासन स्केल र रासनवापतको वृद्धि भएको रकम पाउनेछन्। अब प्रहरीले रासन र रासनवापतको दैनिक रकम कति पाउँछन्? 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार, प्रहरीको रासन र रासनवापतको रकम वृद्धि भएको हो। प्रहरीको रासनका आइटम वृद्धि गरेर १९ पु¥याइएको हो। यसअघि प्रहरीले रासनमा दाल, चामल, मासु, तरकारी लगायत १६ आइटम पाउने गरेका थिए। 

प्रहरीले दैनिक पाउने रासनको क्यालरी बढाएको हो। यसअघि दैनिक ४ हजार ३०.५ क्यालरी बराबरको रासन पाउने गरेका थिए भने अब यसलाई बढाएर प्रतिदिन ४ हजार ३६४ क्यालरी बराबरको रासन पाउनेछन्। 

यसरी पाउने रासनवापतको रकम पनि बढाइएको छ। रासनवापतको रकम जिल्ला अनुसार फरकफरक हुने गरेको छ। तराईका जिल्लाभन्दा हिमाली जिल्लामा बढी हुने गरेको छ। 

प्रहरीले सबैभन्दा कम झापामा रासनवापत दैनिक १८० रुपैयाँ ५५ पैसा पाउँदै आएका थिए। अब दैनिक १९९ रुपैयाँ १० पैसा पाउनेछन्। 
त्यस्तै, सबभन्दा बढी रकम हुम्लामा रहेको छ। हुम्लाको माथिल्लो भेगमा खटिने प्रहरीले दैनिक रासनवापत ८६३ रुपैयाँ ६५ पैसा पाउने गरेका थिए। अब ९५२ रुपैयाँ ३६ पैसा पाउने भएका छन्। 

यस्तै, काठमाडौँ उपत्यकामा दैनिक रासनवापत २०१ रुपैयाँ पाउँदै आएका थिए। अब काठमाडौँमा कार्यरत प्रहरीले रासनवापत दैनिक २२१ रुपैयाँ ९२ पैसा पाउनेछन्। 

जिल्लाको दररेट अनुसार प्रहरीले पाउने रासनवापतको रकम फरकफरक हुने गरेको प्रवक्ता काफ्लेले बताए। रासन आइटम थप गर्दा र चामलको मूल्य बढाउँदा प्रहरीको रासन भत्ता समग्रमा १० प्रतिशत बढेको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad