राष्ट्रिय सूचना आयोगले २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार बन्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ।
आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचनका क्रममा फैलिने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सूचना प्रवाहलाई सत्य, तथ्य र यथार्थमा आधारित बनाउन सरोकारवाला सबै पक्षलाई दिर्नेशन दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता एवं सूचना आयुक्त गगन विष्टले सरोकारवालाले सार्वजनिक गर्ने निर्वाचनसम्बन्धी सूचना समयमै, सबैले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिए। उनले गलत र भ्रामक सूचनामाथि निगरानी तथा नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय बनाइराख्न समेत सरकारलाई सचेत गराए।
आयुक्त विष्टले निर्वाचन आयोगलाई मतदाता शिक्षा थप प्रभावकारी बनाउन, बहुभाषिक माध्यममार्फत सूचना प्रवाह गर्न तथा निर्वाचनसम्बन्धी ऐन, कानुन, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्न निर्देशन दिए।
उनले राजनीतिक दल र उम्मेदवारलाई आफ्नो उम्मेदवारबारे तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न, गालीगलौज, दुष्प्रचार, मिथ्या तथा भ्रामक सूचनाको प्रयोग नगर्न निर्देशन दिए। उनले सम्बन्धित दलको निर्वाचनसम्बन्धी सूचना प्रवाह गर्न सूचना अधिकारी तोक्न समेत निर्देशन दिए।
विष्टले सञ्चारमाध्यमलाई निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्न दिर्नेशन दिए। उनले कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारका रुपमा प्रकाशन तथा प्रशारण नगर्न समेत सचेत गराए।
कुनैपनि उम्मेदवारको सशुल्क प्रचार प्रसार नगर्न निर्देशन दिइएको छ। त्यस्तै, सर्वसाधारण नागरिकलाई सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना सेयर गर्नुअघि त्यसको स्रोत आधिकारिक र विश्वसनीय भएको यकिन गर्न, भ्रामक सूचना देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन समेत उनले आग्रह गरे।
Shares

प्रतिक्रिया