सन् १९९८ सेप्टेम्बरमा मलेसियाको पेराक राज्यको काम्पोङ सुंगाइ निपा भन्ने गाउँमा बङ्गुर पाल्ने किसानहरू धमाधम बिरामी पर्न थाले। उनीहरूमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, मस्तिष्क असन्तुलन हुने समस्या देखिन थाल्यो।
यस्तै लक्षण बङ्गुरमा पनि देखिन थाल्यो। दुवैलाई एकै किसिमको लक्षण देखिएपछि स्वास्थ्यकर्मीहरू हच्किए।
त्यो समय पेराकको धेरै स्थानमा लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस (जेई) रोग फैलिएको थियो। चिकित्सकले सुरुमा जेई नै हो भन्ने ठाने।
समस्या बढ्दै गयो। केही महिनामा नै यो समस्या पेराकबाट नेगेरी सेम्बिलन राज्यमा फैलियो।
जेईसँग मिल्दोजुल्दो लक्षण देखिएकाले सुरुमा जेई विरुद्धको खोप लगाउन थालियो। तर खोपले काम गरेन। चिकित्सकले लक्षण अनुसार उपचार सुरु गरे। तर उपचारले पनि काम गरेन। लक्षण झनै बढ्दै गयो। बङ्गुर र मानिस मर्न थाले। मलेसियामा मात्र २६५ जना मानिसहरू संक्रमित भएका थिए। जसमध्ये १०५ जनाको मृत्यु भयो।
संक्रमण नियन्त्रण गर्न मलेसियाली सरकारले बङ्गुर नै खरिद गर्न छोड्यो।
मार्च १९९९ सम्ममा यो समस्या सिंगापुरसम्म फैलियो। चिकित्सक रोग पहिचान गर्न असमर्थ भए। त्यस पछि मलेसियाका भाइरोलोजिस्ट डा चुआ काव बिङले अनुसन्धान सुरु गरे।
उनले मार्च १९९९ मा एक बिरामीको मस्तिष्कको अध्ययन गरी नयाँ भाइरस पत्ता लगाए। डा बिङले गरेको अध्ययन अन्य चिकित्सकहरूले पनि सुरु गरे। मलेसियाका चिकित्सकहरूले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को सहयोगमा अध्ययन गर्न थाले।
जसमा चिकित्सकहरूले जेईसँग मिल्दोजुल्दो लक्षण भएको नयाँ भाइरस पहिचान गरे। यो भाइरस सुंगुर हुदै मानिसमा सरेको पत्ता लाग्यो।
चिकित्सकहरूले यो भाइरस खासगरी ‘फ्रुट ब्याट’ भनिने चमेरोमा पाइने पत्ता लगाए। निपा भन्ने स्थानमा पहिचान भएकाले ‘निपा भाइरस’ भनेर नामाकरण गरियो।
सन् १९९९ मा पत्ता लागेको निपा भाइरस हाल विश्व स्वास्थ्य संगठनले ठूलो महामारीको सम्भावित कारकका रूपमा सूचीकृत गरेका दस घातक रोगमा राखेको छ।
चमेराबाट बङ्गुर हुदै मानिसमा सरेको निपा संक्रामक र बढी मृत्यु गराउने भाइरसमा पर्छ। फलफूल खाने चमेराबाट सुरु भएको यो भाइरस हाल एसियादेखि अफ्रिका महादेशसम्म फैलिएको छ।
के हो निपा भाइरस?
निपा भाइरस जुनोटिक भाइरस हो, अर्थात् यो जनावरबाट मानिसमा सर्छ। भाइरस मानिसमा निपा संक्रमित चमेरो, बङ्गुर वा संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा आएमा सर्छ।
संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार निपा भाइरस मानिसमा फैलियो भने यसले गम्भीर सङ्क्रमण निम्त्याउन सक्छ, जसले गर्दा मृत्यु पनि हुन सक्छ। चमेरोबाट बङ्गुरमा सर्ने र बङ्गुरको सम्र्पकमा आउदा मानिसमा सर्ने गरेको छ।
जनावरबाट मानिसमा सर्नुका साथै निपा भाइरस मानिसबाट मानिसमा पनि सर्छ। खाँदा, सँगै बस्दा, संक्रमित व्यक्तिको सम्र्पकमा आउँदा एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने गर्छ।
यो रोग संक्रमित जनावरको सम्पर्कमा आएका मानिस तथा भाइरसको संक्रमण देखिएका चरा तथा जनावरले टोकेको वा विष्टा गरेको फलफूलबाट पनि मानिसमा सर्न सक्छ।
लक्षण
निपा भाइरस मृत्युदर बढी भएको भाइरसमा पर्छ। सामान्य ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासको समस्याबाट लक्षण सुरु भई कमजोरी हुने र मानसिक असन्तुलन पार्ने लक्षण देखिन्छ। निपा भाइरसले मस्तिष्कमा असर पार्ने हुँदा यसलाई जटिल प्रकारको भाइरस पनि मानिन्छ।
केही व्यक्तिमा लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्छन्।
अध्ययनहरूका अनुसार निपा भाइरस संक्रमित १० जना बिरामीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ। भाइरसको संक्रमणविरुद्ध अहिलेसम्म कुनै पनि औषधि र खोप पत्ता नलागेका कारण समस्या बढेको अनुसन्धानहरूमा उल्लेख गरिएको छ। विश्व स्वास्थ्य संगठनले भाइरसको संक्रमणको कारण मृत्यु हुने दर ४० देखि ७५ प्रतिशतसम्म पनि हुने गरेको देखाएको छ।
डा पुनका अनुसार बिरामी निको भए पनि उनीहरूको स्नायु प्रणालीमा केही असर भने बाँकी नै रहने गर्छ।
निपा भाइरस मानिसमा लागेको सामान्यतया ४ देखि १४ दिनभित्र लक्षण देखिन थाल्छ। कुनैकुनै अवस्थामा भने ४५ दिनसम्म पनि लक्षण नदेखिन सक्छ।
जोखिममा नेपाल
सन् २००१ मा बंगलादेशमा निपा भाइरस देखिएको थियो। त्यसयता बंगलादेश तथा भारतमा निपा भाइरस देखिँदै आएको छ। यस्तै कम्बोडिया, घाना, इन्डोनेसिया, माडागास्कर, फिलिपिन्स र थाइल्यान्डमा पनि देखिइसकेको छ।
हाल भारतको पश्चिम बंगाल (कोलकाता)मा ‘आउटब्रेक’ भएको छ। भारत र बंगालादेशमा पटकपटक ‘आउटब्रेक’ हुन थालेपछि नेपाल पनि निपा भाइरसको जोखिममा परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार निपा भाइरस नेपालमा हालसम्म पुष्टि भएको छैन।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन भारतसँग सीमा जोडिएकाले नेपाल उच्च जोखिममा रहेको बताउँछन्। भारतमा पटकपटक ‘आउटब्रेक’ हुनुले नेपाल उच्च जोखिममा रहेको उनी बताउँछन्।
डा पुन निपा भाइरस सार्ने चमेरा, बङ्गुर लगायतका जनावर नेपालमा पनि रहेकाले नेपाल निपा भाइरस संक्रमणको जोखिम रहेको बताउँछन्। उनले भाइरस सार्ने प्रजातिको चमेरा नेपालमा पनि पाइने भन्दै उनले यसबारे सूक्ष्म ढंगले अध्ययन गर्नुपर्ने बताए।
डा पुन भन्छन्, ‘भाइरसको स्रोत बङ्गुर पनि हो। नेपालमा किसानहरूले व्यावसायिक रूपमै बङ्गुर पाल्दै आइरहेका छन्। त्यसैले सरोकार निकायले सूक्ष्म अध्ययन एवं विश्लेषण हुनु आवश्यक छ।’
जनावरबाट मात्रै सर्ने भनिए पनि यसको संक्रमण पुष्टि भएका व्यक्तिबाट पनि अन्य मानिसमा सर्ने पछिल्लो अध्ययनले देखाएको भन्दै डा पुन मानिसबाट मानिसमा सर्ने हुनाले रोकथाम निकै चुनौतीपूर्ण हुने बताउँछन्।
नेपाल उच्च जोखिममा रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विपद् तथा आपतकालीन केन्द्रले सीमानाका, स्वास्थ्य संस्था र अस्पताल सबैलाई उच्च सतर्कतामा राखेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सीमा नाकामा हेल्थ डेस्क राखेर बिरामीहरूको निगरानी गर्ने काम भइरहेको बताए।
उनले अस्पतालहरूलाई यस्तो लक्षण भएका बिरामी आएमा नमुना पठाउन भनिएको बताए।
‘सबै अस्पताललाई नमुना लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन भनिसकेका छौँ,’ उनले भने।
Shares

प्रतिक्रिया