पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व निर्देशक मुकुन्दप्रसाद भण्डारीलाई साधारण तारेखमा छोड्न विशेष अदालतले आदेश दिएको छ।
बिहीबार विशेष अदालत, काठमाडौँका सदस्यत्रय नारायणप्रसाद पौडेल, हेमन्त राव र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले भण्डारीलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो। पुर्पक्षका लागि भएको थुनछेकको बहसपछि इजलासको आदेशमा भनिएको छ, ‘प्रमाण परिक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादी मुकुन्दप्रसाद भण्डारीलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नू।’
पोखरा विमानस्थलको ठेक्का लागि सूचना प्रकाशित भए बमोजिम बोलपत्र मूल्यांकनको लागि गठिन बोलपत्र मूल्यांकन समितिको संयोजक रहेको भए पनि समितिले सबै बोलपत्रले ‘टेक्निकल इक्पेरिएन्स’ पूरान गरेको भनेर प्रतिवेदन दिएको पाइएको आदेशमा उल्लेख छ। त्यस्तै, खरिद प्रक्रियामा संलग्नता नभएको र विमानस्थल निर्माणका लागि सम्झौता हुनुभन्दा अघि नै सेवा अवकास पाइसकेको देखिएको जनाइएको छ।



Shares

प्रतिक्रिया