समाज


प्रधानमन्त्रीसँग छुट्टै भेटेर महावीरले भने- म पनि चुनावमा जाऊँ कि, जवाफमा कार्कीले भनेकी थिइन्- तपाईँ प्रधानमन्त्री हुनुपर्छ

... अनि मन्त्री छोडेर चुनावमा होमिए महावीर पुन
प्रधानमन्त्रीसँग छुट्टै भेटेर महावीरले भने- म पनि चुनावमा जाऊँ कि, जवाफमा कार्कीले भनेकी थिइन्- तपाईँ प्रधानमन्त्री हुनुपर्छ

मंगलबार मनोनयन दर्ता गराउँदै महावीर पुन ।


प्रज्ञा तिम्सिना
माघ ६, २०८२ मंगलबार १४:४४, काठमाडौँ

गत असोजमा सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेपछि महावीर पुनले भनेका थिए, ‘किताब बेच्दाबेच्दै मन्त्री बनाइदिए।’

राजनीतिमा रुची नभएको बताउँदै आएका उनी मन्त्री बनेकोमा पनि उति खुसी थिएनन्। भन्थे, ‘यस्तो तनाव हुने रै’छ, किन कोही मन्त्री बन्न तानातान गर्नु!’ 

बरु, नयाँ र युवाहरूलाई एकजुट हुन आग्रह गर्थे। तर, फागुन २१ को चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनकोे अन्तिम घडीमा भने पुन आफैँ निर्वाचनमा होमिन पुगेका छन्। 

मन्त्री हुँदा उनले शिक्षा नियमावली पास गराउन अन्तिमसम्म लड्ने बताएका थिए। तर सकेनन्। अन्ततः मन्त्री पद छाडेर चुनावमा होमिएका छन्। पुनले आफनो गृहजिल्ला म्याग्दीबाट स्वतन्त्र उम्मेदारी दर्ता गरेका हुन्। 

मंगलबार बिहानै निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेको उनले बताएका छन्। आफू कुनै पार्टीको पुच्छर नहुने बताउँदै स्वतन्त्र रुपमा चुनावमा उठेका छन्। 

‘कुनै पार्टीको कुरा सुन्दिनँ। कुनै पार्टीको पुच्छर बन्न चाहन्नँ’, उम्मेदवारी दिनुको कारण खुलाउँदै उनले भने, ‘पुरानोले त सक्दै सकेन, ढंग पुर्‍याएन। ३५ वर्षसम्म शासन गर्दा ढंग ल्याएनन्। नयाँले ढंग ल्याउँछ कि भनेको हो। अब ३५ वर्ष लाग्यो– त्यो थाहा पाउन पनि। त्यसकारण चुनावमा आएँ।’

राजनीतिक दलहरूबाट निर्वाचन लड्न प्रस्ताव आए पनि स्वीकार नगरेको उनको भनाइ छ। 

‘आए पनि कसले स्वीकार गर्छ? गर्दै गर्दैन नि! मलाई प्रस्ताव ल्याउने आँट हुनुपर्‍यो नि!’ पुनले ठट्टा गरे।

पुन म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ का राम्चे नाधीका निवासी हुन्। 

सरकारी कार्यशैलीप्रति आजित 
शिक्षामन्त्रीमा नियुक्त भएसँगै पुनले मन्त्रालयमै बसेर काम गरे। शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा केही सुधार ल्याउन चाहन्थे। पहिलो प्रयास नै विश्वविद्यालयबाट गर्न थाले। 

विश्वविद्यालयहरूमा कुलपति प्रधानमन्त्री रहँदा राजनीतिक हस्तक्षेप बढेको भन्दै सो व्यवस्था हटाउनुपर्नेमा जोड दिए। त्यसमा प्रधानमन्त्री कार्कीको समेत साथ पाएका थिए उनले। कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनेबारे अध्ययन गरेर सिफारिस गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको अध्यक्षतामा कार्यदल गठन गरे।

कार्यदलले विश्वविद्यालयको संरक्षकमा राष्ट्रपति र परिषद्मा कुलपति रहने प्रस्ताव गरेको थियो। कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाएर परिषद्को अध्यक्ष कुलपति हुने प्रस्ताव गरिएको थियो। 

दीक्षान्त समारोहमा संरक्षकको रूपमा राष्ट्रपति सहभागी हुने गरी मन्त्रालयले अध्यादेश तयारी गरेर मन्त्रिपरिषद्मा पनि पठाएको थियो। तर, मन्त्रिपरिषद्ले अध्यादेश पास गरेन। पुनले यसबीच शिक्षा नियमावली संशोधन पनि गरेका थिए। संशोधन भएर आएको नियमावली पास गर्न आफैँ संलग्न सरकारले रोक्यो। 

विद्यालय तहमा कम्युटर शिक्षा पढाउने, त्यसका लागि दरबन्दी थप गर्ने, क्यान्सरको उपचार नेपालमा नै उत्पादन सुरु गराउने लगायतका काम उनले सुरु गर्न खोजेका थिए। 

सुरु गरेको कुनै पनि काम अघि नबढेपछि पुन पछिल्ला केही दिनयता निकै तनावमा थिए।

कर्मचारीले सहयोग नगर्ने, निर्णय कार्यान्वनमा आफू नै सहभागी सरकारले साथ नदिने प्रवृत्तिले उनी आजित हुँदै गएका थिए। सामाजिक सञ्जालमा उनले त्यसबारे संकेत गर्दै असन्तुष्टि पोखिरहेका थिए। 

‘उहाँले गर्न खोजेका कामहरू अधुरा रहे। जसकारण उहाँ निराश हुनुहुन्थ्यो। तनावका दिन सामाजिक सञ्जालमा नै देखिन्थ्यो’, पुननिकट स्रोतले भन्यो। 

यहीबीच उनी निर्वाचनमा होमिनपुगेका हुन्। त्यसको संकेत पनि उनले केही समयअघि सामाजिक सञ्जालबाट दिएका थिए। अरुले नगरेकाले आफैँ मैदानमा आउने उनले भनेका थिए।

यसबीच निर्वाचन आचारसंहिताको विषयमा निर्वाचन आयोग, प्रधानमन्त्रीसँगै सबै मन्त्रीहरूबीच गत आइतबार बालुवाटामा बैठक बसेको थियो। सो बैठक सकिएपछि उनले प्रधानमन्त्रीसँग छुट्टै भेटेका थिए।

सो भेटका क्रममा उनले आफूले गरिरहेको काम र निर्णय हुन बाँकी भएका फाइल प्रधानमन्त्रीलाई जिम्मा लगाएका थिए। 

प्रधानमन्त्री कार्कीले मंगलबार केही गराउँला भनेकी थिइन्। त्यसमा पुनको जवाफ थियो– त्यसबेला त म हुँदिन होला। 

पुनको कुरा सुनेपछि प्रधानमन्त्री ‘किन’ भन्दै झसंग भएकी थिइन्। 

‘म पनि चुनावमा जाऊँ कि!’ पुनले लजाउँदै ठट्यौलो पारामा भनेका थिए। कार्कीले ‘ठीक छ’ भन्दै धाप मारेकी थिइन्– ‘तपाईँ प्रधानमन्त्री हुनुपर्छ।’ 

पुन आफूले सरकार छाड्ने कुरा सार्वजनिक नगर्न र उपयुक्त समयमा आफैँले सार्वजनिक गर्ने भन्दै बालुवाटारबाट विदा भएर हिँडेका थिए। 

‘चुनाव नै लडेर आउनुपर्ने रहेछ। यो चुनावी सरकारले केही गर्न नसक्ने रहेछ। कर्मचारीले रोक्ने, अदालतले रोक्ने, राष्ट्रपतिले रोक्ने केही गरेर काम गर्न नसकिने रहेछ। चुनाव नै लडेर आउनु पर्ने भन्दै उनले आफ्नो काम रोकिएपछि यो निर्णय लिएका हुन्’, उनीनिकटस्थ भन्छन्। 

पुन पनि अन्तिम समयसम्म आफूले चाहेको परिवर्तन होला कि भनेर कुरिरहेको तर नभएपछि चुनाव लड्ने अवस्थामा पुगेको बताउँछन्।

‘अस्ति राति १२ बजेसम्म आचारसंहिता लाग्ने थियो। १२ बजेसम्म केही हुन्छ कि भनेर खुब कोशिस गरेँ’, उनले भने, ‘तर केही नभएपछि चुनावमा लड्ने निर्णय गरेँ।’

चुनाव पैसा खर्च नगर्ने
चुनावमा अप्रत्याशित रुपमा आएका पुन चुनावमा पैसा खर्च नगर्ने बताउँछन्।  

उम्मेदवारी दर्ता गराउन म्याग्दी पुगेका पुनले भने, ‘कोही आफैँ चिया खर्च गरेर मेरा लागि चुनाव प्रचार गर्न चाहनुहुन्छ भने गर्नुहोस्।’ 
चुनावमा चाहनेले खर्च गर्न र प्रचार गर्न सक्ने पुनले बताए। 

‘मैले चुनाव खर्च छुट्याएको छैन, खर्च पनि गर्दिनँ’, उनले भने।

शिक्षामन्त्री पुन बुढा नेतादेखि रिस उठेर चुनावमा उठेको बताउँछन्। नेपालीहरूको ढिलासुस्ती र कुशासन पनि उनलाई राम्रो लाग्दैन।

‘नयाँ शक्ति एकैतिर भएको भए त म चुनाव उठ्ने नै थिएन नि! १० तिर भएर पो उठेको नि!’, उनले थप प्रस्ट्याए, ‘युवाहरू पनि एक आपसमा पनि खुट्टा तानातान छ। सबै प्रधानमन्त्री हुन्छु भनेर आएका छन्। तर एकआपसमा नमिल्ने। पुराना पार्टीमा तानातान छ। नयाँमा पनि त्यही देखेपछि झोक चल्यो अनि उम्मेदवारी बन्न आएँ।’ 

युवाहरूले केही गर्छ कि भन्ने सोचेको तर त्यो दृश्य देख्न नपाएपछि चुनावी मैदानमा उत्रिनुपरेको उनको गुनासो छ। 

‘भावी योजना केही छैन। काम गर्दै जाने हो, योजना बनाउँदै जाने हो’, उनले ठट्टा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad