नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
ओलीको उम्मेदवारीमा एमाले केन्द्रीय सदस्य रोमनाथ ओली प्रस्तावक र मेनुका काफ्ले समर्थक रहेका छन्। यो क्षेत्रबाट ओली आठौंपटक संसदीय प्रतिस्पर्धामा उत्रिएका हुन् ।
विपक्षीप्रति आक्रामक मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले पछिल्ला राजनीतिक घटनाक्रमप्रति कडा असन्तुष्टि व्यक्त गरे। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले एमाले लक्षित अवरोध सिर्जना गरेको उल्लेख गर्दै उनले यसलाई असभ्य व्यवहारको संज्ञा दिए।

'राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट केही असभ्य र अस्वस्थ खालका गतिविधि भयो भन्ने सुनेको छु,' ओलीले भने, 'त्यस्तो ठूलो केही होइन, उनीहरूले आफ्नो स्तर जाहेर गर्ने खालका गतिविधि देखाएका मात्र हुन्।'
एमालेका कार्यकर्तालाई लक्षित गरी बाटो सेक्ने र अवरोध गर्ने काम भएको दाबी गर्दै उनले भयरहित निर्वाचन हुनेमा शंका व्यक्त गरे । 'एमालेमाथि योजनाबद्ध आक्रमण भइरहेको छ,' उनले थपे, 'अहिलेकै परिस्थिति कायम रहने हो भने निष्पक्ष र शान्तिपूर्ण चुनाव हुन्छ भन्नेमा विश्वस्त हुने आधार देखिँदैन।'
बहुमतको दाबी आफ्नो जितप्रति ढुक्क देखिएका ओलीले यसपटक विगतको भन्दा मतान्तर बढाएर विजयी हुने दाबी गरे। नेकपा एमालेको प्रतिस्पर्धा अन्य कुनै दलसँग नहुने जिकिर गर्दै उनले फागुन २१ को निर्वाचनबाट एमालेले स्पष्ट बहुमत ल्याउने जिकिर गरे।
'हामी चुनावी मैदानमा छौँ, जनताको साथ एमालेलाई छ,' ओलीले भने, 'देशभरको लहरले एमालेको बहुमत सुनिश्चित गरिसकेको छ।
Shares

प्रतिक्रिया