समाज


धादिङमा जुधाइयो एक सय हल गोरु

धादिङमा जुधाइयो एक सय हल गोरु

नेपालखबर
माघ १, २०८२ बिहिबार २१:१७, मलेखु (धादिङ)

माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ। कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो।

त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४, लाइगाउँमा १०, नीलकण्ठ नगरपालिकाको धुवाकोट–९, खाल्टेमा सात, मर्स्याङछापमा पाँच, सुनौलाबजारमा आठ, खनियाबासको दार्खा १७, मार्पकमा चार, फुलखर्कमा ११, बुढाथुममा नौ र ज्वालामुखीको मैदीमा छ हल गोरु जुधाइएको आयोजकहरुले जानकारी दिएका छन्।

जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व  जोडिएको मूलपानीका शम्भु थापाले बताए। रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बतबीचको भोट सन्धी १९४९ सँग जोडिएको छ। बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका निम्ति माघे सङ्क्रान्तिका दिन गोरु जुधाएर थालनी गरिएको किम्बदन्ती रही आएको जानकारहरु बताउँछन्।

बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढे गोरुहरू जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ। पहिला पहिला छिमेकीले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए। अहिले प्रतियोगिताका रुपमा गोरु जुधाइँदै आएको छ।

कुन साँढे गोरु कुनसँग जुधाउने, उमेर र आकार निर्क्यौल गरिन्छ। प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ। वर्खाभरि खेतबारी जोत्ने र हिउँदमा बलियो बनाएर पालेको गोरुलाई किसानले मनोरञ्जनका लागि झुधाउँदै आएकामा पछिल्लो वर्षहरुमा प्रतियोगिताको रुपमा जुधाउने गरिएको हो। मनोरञ्जन, भेटघाट र मित्रता नवीकरण गर्ने अवसरका रुपमा विकसित हुँदै आएको मैदीकी सुशीला विश्वकर्माले जानकारी दिए।  

ऐतिहासिक प्रमाण नभेटिए गोरु जुधाइ परम्परा १०० वर्षभन्दा पुरानो मानिन्छ। माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad