आज (माघ १ गते) सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा २ डिग्री सेल्सियस बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बिहीबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस देखिएको हो। हिजो पुस ३० गते (बुधबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो।
पछि बिहान ८:४५ बजे अझ घटेर बुधबार काठमाडौँको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस कायम भएको थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि सोही समयमा पुन: मापन हुनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातीभन्दा घट्ने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा बस्यो भने घट्छ।
यसको ठिक उल्टो दिनमा चाहिँ आकाशमा बादल रह्यो भने घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घट्छ अर्थात् चिसो बढ्छ भने दिनभर आकाश सफा रह्यो भने घाम देखिने भएकाले अधिकतम तापक्रम बढ्छ अर्थात् चिसो कम हुन्छ।
Shares

प्रतिक्रिया