नेपालमा निको भयो भनेर अस्पतालबाट घर पठाइएका तीन जनालाई फेरि कोरोना संक्रमण (कोभिड-१९) देखिएको खबर सार्वजनिक भइसकेको छ।
रौतहटका एक युवक, पर्साको वीरगन्जस्थित मस्जिदका एक जमाती र काठमाडौंको सनसिटीका एक व्यक्तिमा फेरि कोरोना संक्रमण देखापरेको हो। अहिले उनीहरूलाई फेरि पहिले उपचार गरिएकै अस्पतालमा ल्याएर आइसोलेसनमा राखिएकाे छ।
यसरी रोग (कोभिड-१९) किन दोहोरिएको होला?
एक जना विज्ञ (भाइरोलजिस्ट) इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्ः
यसमा धेरै कारण हुन सक्छन्। प्रमुख कुरा स्याम्पल (स्वाब) लिने बेला कसरी लिइयो भन्ने कुरा महत्वपूर्ण हुन्छ। फोक्सोको भित्रबाट स्वाब निकालियो भने मात्र भाइरसको वास्तविक संख्या थाहा पाउन सजिलो हुन्छ। यस्तै नाकको निकै भित्रबाट निकालिएको स्वाबबाट पनि भाइरसको यथार्थ स्थिति पत्ता लगाउन सकिन्छ। तर हामीकहाँ त्यस्ताे अभ्यास छैन।
नाकको धेरै भित्र उपकरण पसाउँदा बिरामीले हाच्छिउँ गर्न सक्छ र स्वाब संकलनकर्तालाई रोग सर्ने डर हुन्छ। यसैकारण हामीकहाँ नाक/मुखको धेरै भित्र नगई वरैबाट स्वाब निकाल्ने गरिन्छ। भेन्टिलेटरमै भएका बिरामीको मात्रै हामी निकै भित्र गएर स्वाब निकाल्ने गर्छाैं। यसबाहेक अन्य सामान्य बिरामीको स्वाब सामान्य ढंगले निकाल्ने गर्छौं।
यसैकारण पहिलो कुरो त स्याम्पल कहाँबाट र कसरी लिइयो भन्नेमा यो विषय (रोग दाहोरिएको देखिनु) निर्भर हुन्छ। अर्काे कुरा, पीसीआर परीक्षण पनि आफैंमा सय प्रतिशत सही नतिजा दिने विधि होइन। यसले ७५ प्रतिशतसम्म ठीक नतिजा निकाल्छ। यी र यस्ता धेरै कारण हुन सक्छन्।
भनेपछि स्वाब संकलन र परीक्षणमा भएको प्राविधिक त्रुटिले गर्दा निको नभईकनै बिरामी घर पठाइएकाले दोहोरिएको जस्तो देखिएको हो त?
यस विषयमा पहिलोपटक तपाईंसँगै कुरा भयो। यस विषयमा मैले ल्याब (प्रयोगशाला) मा बुझ्न पाएको छैन। धेरै कुरा सम्बन्धित ल्याब र अस्पतालबाट थाहा पाउन सकिने भएकाले म यस विषयमा बुझ्ने छु। अहिले मैले तपाईंसँग प्राविधिक पाटोको मात्रै कुरा गरेकाे हुँ। अहिले नै यसै हो भनेर भन्न सकिन्न। अब हामी यसबारे गम्भीर ढंगले अनुसन्धान गर्ने छौं र त्यसपछि मात्रै यसको वास्तविक कारण भन्न सकिएला।
याे पनि:
नेपालमा भित्रिएको कोरोना कस्तो खालको हो? यसरी अनुसन्धान गर्दैछन् वैज्ञानिक

प्रतिक्रिया