छापा खबर


नेपालका अधिकांश संक्रमित किन लक्षणविहीन छन्? कोरोनाको जिन पत्ता लगाउने तयारीमा वैज्ञानिक

नेपालका अधिकांश संक्रमित किन लक्षणविहीन छन्? कोरोनाको जिन पत्ता लगाउने तयारीमा वैज्ञानिक

नेपालखबर
बैशाख २४, २०७७ बुधबार २:४०,

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दै गएपछि भाइरसको जिन पत्ता लगाउने कार्य अघि बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पहलमा भाइरसमा रहेको जिनको सिक्वेन्सिङ (जिन वर्गीकरण) गर्ने कार्य अघि बढेको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

शरीरमा विभिन्न प्रकृतिका भाइरस हुने भएकाले यसको ‘सिक्वेन्सिङ’ पत्ता लगाउने कार्य अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालका पहिलो संक्रमितको मात्रै जिन सिक्वेन्सिङ भएको छ।

प्रक्रिया सुरु भएसँगै जिन पत्ता लगाउन संक्रमित या नयाँ संक्रमितबाट व्यक्तिको अनुमतिमा स्वाब संकलन गरिनेछ। नेपालमा हाल काठमाडौं विश्वविद्यालय र नास्टमा जिन छुट्याउने प्रविधि (जेनेटिक ल्याब) छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार विज्ञसहितको छलफल डाकेको थियो। कोभिड–१९ सम्बन्धी प्याथोलोजी सल्लाहकार समिति सदस्यसमेत रहेका नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले नेपालमा जिन सिक्वेन्सिङ गर्ने प्रक्रिया सुरु भइसकेकोे जानकारी दिए।

उनले भने, ‘नेपालमा देखिएको कोरोना भाइरसको कुन जिनले गर्दा पोजेटिभ केस देखिएको छ । त्यो जिन पत्ता लगाउने कार्य अघि बढिसकेको छ।’ नेपालमा कोरोना संक्रमण देखिएका व्यक्तिमध्ये अधिकांश लक्षणविहीन भएकाले जिनको प्रकृतिबारे अध्ययन गरिनेछ।

जिनको सिक्वेन्सिङ गरेर भाइरसको जेनेटिक क्यारेक्टराइजेसन (जिनको विशेषता) र जिनको विविधता पत्ता लगाई जिन म्युटेसन (उत्परिवर्तन) छ या छैन भनेर हेरिनेछ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय माइक्रोबायोलोजी विभाग प्रमुख सह प्राडा मेघराज बन्जाराले नेपालको भाइरस कस्तो प्रकृतिको हो भनेर जानकारी लिन आवश्यक रहेको बताए।

उनले भने, ‘कुनै देशमा भ्याक्सिन पत्ता लाग्यो या औषधि पत्ता लाग्यो भने हाम्रो देशका लागि उपयुक्त हुन्छ कि हुँदैन । प्रभावकारी हुन्छ कि हुँदैन भन्नका लागि हामो देशको भाइरसको सिक्वेन्सिङ पनि थाहा हुनुपर्छ।’

जिन पत्ता लगाएपछि नेपाल र बाह्य देशको भाइरसको जिन एउटै हो या होइन भनेर तुलना गर्न सकिने माइक्रोबायोलोजीस्टहरू बताउँछन्।

नेपालमा पहिचान भएका कोभिड–१९ संक्रमितमा माइल्ड (मधुरो) वा एसिम्प्टोम्याटिक (लक्षणविहीन) संक्रमण उत्पन्न भएको पाइएकाले ती भाइरसको जिन विश्लेषण गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ । संक्रमितमा भाइरस एकै खाले छन् या फरक खाले छन् भनेर जानकारी हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad