समाज


हरेक वर्ष सयभन्दा बढीको मृत्यु हुन थालेपछि अब चट्याङ पनि कहिले र कहाँ पर्छ पूर्वानुमान गरिने

हरेक वर्ष सयभन्दा बढीको मृत्यु हुन थालेपछि अब चट्याङ पनि कहिले र कहाँ पर्छ पूर्वानुमान गरिने

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार १७:४५,

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अब आउने वर्षा यामदेखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन्।

विभागले यअसघि वर्षात्, हावाहुरी, बाढी र पहिरो आउने स्थान र समयको पूर्वानुमान मात्र गरिरहेको छ। समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनले बताए।

‘चट्याङबाट हरेक वर्ष एक सयभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक छ,’ सरोकार भएका निकायसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भने, ‘समयमै सूचना प्रवाह गर्न सकियो भने चट्याङबाट हुने मानवीय क्षति रोक्न सकिन्छ।’

उनले पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकामा सन्तोष व्यक्त गर्दै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

सिँचाइ सचिव रवीन्द्रकुमार श्रेष्ठले कोभिड-१९ महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण चट्याङको समय र स्थानबारे पूर्वानुमान गर्ने कार्य केही समय पछि धकेलिए पनि यसै वर्ष काम सक्ने प्रयास भइरहेको बताए।

जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताए।

‘अरू देशमा यो प्रविधि अहिले पनि छ,’ उनले भने, ‘अब हामी पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौँ।’

उनले नेपालको चुरे क्षेत्र चट्याङको बढी जोखिममा रहेको उल्लेख गरे।

मन्त्रालयमा मंगलबार आयोजित छलफलमा ऊर्जा सचिव दिनेशकुमार घिमिरे, सिँचाइ सचिव श्रेष्ठ, मौसम विभागका उपमहानिर्देशक कर्माचार्य, सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी र गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल र गृह मन्त्रालयका उपसचिव गणेशविक्रम शाही सहभागी थिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad