चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री ढुवानी गर्न सेनालाई मुस्किल परेको छ। गोन्जाओमा सामग्री उपलब्ध गराउने सम्झौता भएपनि त्यहाँ ट्राफिक जाम र भन्सारमा बढी समय लाग्ने भएपछि सेनाले च्याङ्सा विमानस्थलमा ती सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।
अन्य देशले गोन्जाओबाटै सामग्री ढुवानी गरिरहेकाले गोन्जाओ विमानस्थलमा जाम बढेको छ। भन्सारमा समेत लामो समय लागेको छ।
यसअघि सेनाले ३७ टन स्वास्थ्य सामग्री ढुवानीका लागि मंगलबार २ वटा जहाज पठाउने तयारी गरेको भएपनि चीनमा लगातारको सार्वजनिक बिदाका कारण सम्भव नभएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।
चीनमा मजदुर दिवसको उपलक्ष्यमा १ देखि ५ तारिखसम्म सरकारी बिदा दिइन्छ। बुधबारबाट कार्यालय खुल्ने भएपनि भन्सारको काम ७२ घण्टासम्म लाग्न सक्ने चिनियाँ पक्षले पहिल्यै बताइसकेको छ।
चीनले स्वास्थ्य सामग्री दिने प्राथमिकतामा नेपाललाई ८१ औं नम्बरमा राखेको थियो। तर सेनाले नेपाललाई प्राथमिकतामा राखिदिन आग्रह गरेको छ।
६ तारिखमा भन्सारमा लगेर प्रक्रियामा छिराउन सके छिटो ल्याउन सकिने प्रवक्ता पाण्डेले बताए। सेनाले नेपाल एयरलाइन्सका २ उडान रिजर्भ गरिसकेको छ।
च्याङ्सा विमानस्थलमा भीड कम हुने र भन्सारमा समेत सहज हुने भएकाले त्यो विमानस्थलमा सामग्री तयार गरिदिन आग्रह गरेको पाण्डेले बताए। तर सार्वजनिक बिदा भएकाले चीनबाट कुनै प्रतिक्रिया आएको छैन। जवाफ नआएसम्म जहाज कहिले पठाउने भन्ने निश्चित हुन नसकेको सेनाले जनाएको छ।
अन्तर्राष्ट्रिय उडानको भीड लाग्दा केही दिन पहिले एयर क्यानडा सामग्री नलिई गोन्जाओबाट फर्किएको थियो।
नेपाली सेनाले बिहीबार मात्रै कहिले सामग्री ल्याउने भन्ने निश्चित हुने प्रवक्ता पाण्डेले बताए।
‘११ तारिखमा यहाँबाट उडान गर्न सकियो भने तीन दिन भन्सारमा लाग्छ,’ प्रवक्ता पाण्डेले भने, ‘स्थलमार्गबाट ल्याउने सामग्रीका लागि पनि गाडी पठाउने तयारी भइरहेको छ।’
नेपाललाई दिने कतिपय स्वास्थ्य सामग्री चीनले संकलन गरिसकेको छ।
सेनाले ल्याउन लागेका २ लाख पीपीईमध्ये ३० हजार विमानमा र बाँकी गाडीमा ल्याउने तयारी छ। विमानबाट २ उडानमा ३७ टन र बाँकी ३ सय ५ टन गाडीबाटै ल्याउने तयारी छ।
अत्यावश्यक सामग्री विमानबाट ल्याउने र अरु गाडीबाट ल्याउने तयारी भएपनि गाडी र विमानबाट सामग्री सँगसँगैजसो आउने अवस्था भएको पाण्डेले बताए।
केही दिनमा गाडी पठाउने तयारी गरेको सेनाले जनाएको छ। चीनको गोन्जाओ हुँदै तातोपानी नाकाबाट गाडीमा सामग्री ल्याउन एक हप्ता लाग्छ।
नेपाललाई दिने स्वास्थ्य सामग्री चीनले ६ ठाउँबाट संकलन गर्नुपर्छ। केही सामग्री लोड गरिसकेको जानकारी गराइसकेको छ।
चीनबाट सेनाले ६७ प्रकारका ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको छ।
जसका लागि सेनाले २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ तिरिसकेको छ।
चिनियाँ सरकारी कम्पनी सिनो मार्फबाट सेनाले जीटूजी प्रक्रियाबाट सामग्री ल्याउने सम्झौता भएको थियो।

प्रतिक्रिया