राजनीति


ओली-प्रचण्ड सम्झौताको रहस्य जान्न स्थायी समिति बैठक कुर्दै नेपाल समूह

ओली-प्रचण्ड सम्झौताको रहस्य जान्न स्थायी समिति बैठक कुर्दै नेपाल समूह

मणि दाहाल
बैशाख २२, २०७७ सोमबार १५:२३,

शनिबारको नेकपा सचिवालय बैठकमा अप्रत्यासित रुपमा पार्टीभित्रको समीकरणमा फेरबदल आएपछि अन्यौलमा परेको माधव नेपाल समूहले बिहीबारबाट सुरु हुने स्थायी समिति बैठकसम्म पर्ख र हेरको रणनीति तय गर्ने भएको छ।

परिवर्तित सन्दर्भमा आफ्नो पक्ष कुन रुपमा प्रस्तुत हुने भन्नेबारे नेता नेपालले आफूनिकट नेताहरुसँग परामर्श तीव्र पारेका छन्।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई सरकार र पार्टी एकलौटीरुपमा चलाएको आरोप लगाउँदै उनीबिरुद्ध गठबन्धनमा सक्रिय रहेका अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत शनिवारको सचिवालय बैठकमा प्रधानमन्त्रीप्रति अचानक सहमतिका साथ अघि बढ्ने गरी प्रस्तुत भएका थिए।

त्यसैगरी गठबन्धनका अर्का नेता वामदेव गौतम सोही बैठकदेखि ओलीको पक्षमा खुलेरै लागेका थिए।

नेपाल पक्षका नेताहरुले सचिवालयका बैठकअघि दुवै अध्यक्षबीच भएको छलफलमा कुनै प्रकारको सहमति भए या नभएको स्पष्ट हुन चाहेको बताएका छन्।

नेपाल समूहका नेताहरुले प्रधानमन्त्री ओलीले समस्याको दीर्घकालीन समाधान गर्न खोजेको हो वा सरकार जोगाउने अल्पकालीन चाल मात्र चालेका हुन् भन्ने आगामी दिनका उनका गतिविधिबाट मात्र विश्वस्त हुन सकिने बताएका छन्।

शनिबारपछि परिस्थितिमा परिवर्तन आएपछि नेपालले निरन्तर आफू निकट स्थायी समिति, केन्द्रीय समिति सदस्य तथा सांसदहरुसँग परामर्श गरिरहेका छन्। उनले छुट्टाछुट्टै समूहमा नेताहरुसँग आइतबार र सोमबार दिनभर जस्तो परामर्श गरेका थिए।

‘बिहीबारबाट सुरु हुने स्थायी समितिको बैठकमा भ्रष्टाचारदेखि अध्यादेशसम्मको विषयमा स्पष्ट कुरा राख्नेछौँ। त्यसमा कसले के कुरा राख्छन् र कसरी प्रस्तुत हुन्छन भन्ने त्यहीँ स्पष्ट भइहाल्छ,’ स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेपालखबरसँग भने, ‘कसले के समझदारी गरेकाे वा कुनै सम्झौता कोसँग भएको भए पनि त्यसकाे रहस्य त्यहाँ खुल्नेछ।’

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल निकट रहेका स्थायी समितिका २० जना सदस्यहरुले लिखित रुपमा बैठक माग गरेका थिए। २५ प्रतिशत स्थायी समितिका सदस्यले लिखित माग गरे बैठक बोलाउनु पर्ने पार्टी विधानको प्रावधानअनुसार उनीहरुले माग गरेपछि सो बैठक राख्न नेतृत्व बाध्य भएको हो।

‘अहिले पर्ख र हेरकै अवस्थामै हो। घटनाक्रम कसरी अघि बढ्छ र नेताहरु कसरी प्रस्तुत हुन्छन्, त्यसबाट कुराहरु प्रष्ट हुँदै जानेछ। अहिलेको समस्याको सुरुवात प्रधानमन्त्रीबाटै भएको हुँदा समाधानकाे उपाय पनि उहाँबाटै कसरी आउँछ त्यो हेर्नै पर्ने हुन्छ,’ नेपालनिकट केन्द्रीय सदस्य विजय पौडेलले भने ‘हाम्रो एजेन्डा भनेको पार्टी र सरकार विधि र पद्धतिअनुसार चलाउनु पर्छ भन्ने भएकाले विधि र प्रक्रियाबाट सञ्चालन गरे धेरै विषय समाधान हुन्छ।’

पौडेलले प्रचण्ड र नेपालबीच अहिलेका विषयवस्तुसम्बन्धी बुझाइमा कुनै भिन्नता आफुले नभेटेको बताए।

पछिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा आफ्नो तर्फबाट भएको गल्ती कमजोरीप्रति आत्मआलोचना गरेका थिए। उनले आगामी दिनमा सबै पक्षलाई समेटेर लैजाने प्रतिबद्धता समेत जनाएका थिए।

त्यसैगरी अध्यक्ष प्रचण्डले समेत पार्टी सञ्चालनका सन्दर्भमा आफूबाट भएको कमजोरीका लागि आत्मआलोचना गरेका थिए।

त्यही बैठकमा नेता नेपालले भने दुई अध्यक्षहरुबीच चोचोमोचो मिलेर मात्र नेकपाको विवाद समाधान नहुने धारणा राखेका थिए।

ओली र प्रचण्डबीच सचिवालय बैठकको ठीकअघि कुराकानी गरी एकाएक बैठकको परिदृष्य परिवर्तन भएपछि नेपाल पक्ष झस्किएको थियो।

तर, प्रचण्डले भने अझै आफू नेपाल पक्षको साथमै रहेको भन्दै भैँसेपाटी गठबन्धनका नेताहरुबीचको सहकार्यलाई निरन्तरता दिने जनाऊ दिएका छन्।

सोही प्रयासस्वरुप आइतबार दिउँसो प्रचण्ड र नेपालबीच भेट भएको थियो। उनीहरु एकले अर्काको धारणा बुझ्ने कोसिस गरेका थिए।

ओली र आफूबीच भेट हुने बित्तिकै सचिवालय बैठक सुरु भएका कारण ओलीसँग भएको कुराकानीबारे आफूले तत्काल नेपाललाई जानकारी गराउने मौका नपाएको भन्दै प्रचण्डले उनलाई विश्वस्त पार्ने प्रयास गरेका थिए।

त्यसपछि पनि नेता नेपालले आफूनिकट नेताहरुलाई प्रचण्डसँग खासै समस्या नरहेको बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .