नेपाल पत्रकार महासङ्घले सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा करिब तेब्बरले वृद्धि भएकामा ध्यानाकर्षण गराएको छ।
महासङ्घको अनुगमनअनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १३९ वटा घटना अभिलेख भएका छन्। त्यसमा ११८ जना पत्रकार तथा सञ्चारकर्मी र ३१ वटा सञ्चारगृह प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। दुई जना पत्रकारको मृत्यु भएको छ।
गत वर्ष सन् २०२४ मा ६० र सन् २०२३ मा ५८ वटामात्र यस्ता घटना भएका थिए। सन् २०२४ को तथ्याङ्कसँग तुलना गर्दा सन् २०२५ मा हननका घटनामा करिब तेब्बरको हाराहारीमा वृद्धि भएको महासङ्घले जनाएको छ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा मात्र २६ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए। उक्त आन्दोलन र त्यसपछिको हिंसात्मक घटनामा १०० भन्दाबढी पत्रकार तथा सञ्चारगृह प्रभावित भएका थिए। सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड हुँदा करिब ६० करोड रुपैयाँ बराबरको संस्थागत क्षति र १८ करोड रुपैयाँ बराबरको निजी सम्पत्तिको क्षति भएको महाङ्घले जनाएको छ। पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए।
त्यसैगरी आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा हुनसक्ने प्रेस स्वतन्त्रता हननप्रति सचेत रहन पत्रकार जगत् र सरोकारवालालाई आह्वान गरेको छ। रासस
75
Shares

प्रतिक्रिया