मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटुरोगका करिब ९५ प्रतिशत उपचार स्वदेशमै सम्भव भइसकेको बताएका छन्।
बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। उनले मुटुरोग सम्बन्धी बाँकी पाँच प्रतिशत उपचार, विशेषगरी मुटुको प्रत्यारोपण (हार्ट ट्रान्सप्लान्ट) र कृत्रिम मुटु जडान सेवा अझै सुरु हुन नसकेको उल्लेख गरे।
उनकाअनुसार हार्ट ट्रान्सप्लान्ट र आर्टिफिसियल हार्ट जडानका लागि आवश्यक कानुनी प्रक्रिया अधिकांश पूरा भइसकेको छ। तर स्वास्थ्य मन्त्रालयबाट अस्पताललाई दिनुपर्ने लाइसेन्स नआएकाले सेवा शुरु हुन नसकेको उनको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अस्पतालले अनुमति पत्र नपाएकै कारण मुटु प्रत्यारोपण गर्न मिल्न नसकेको उल्लेख गर्दै उनले लाइसेन्स प्राप्त भए लगत्तै सेन्टरबाट सेवा सुरु गर्न सकिने बताए।
डा. भट्टराईले भने, ‘मुटुरोगमा अहिलेसम्म हामी ९५ प्रतिशत रोगको उपचार नेपालमै गरिरहेका छौँ। अहिले पनि हामीले पाँच प्रतिशत रोगको उपचार हामीले गर्न सकिएका छैनौँ। त्यो भनेको हार्ट ट्रान्सप्लान्टेसन (मुटुको प्रत्यारोपण) र आर्टिफिसिय हार्टहरु राख्ने भएको छैन। त्यसमा हामीले काम गरिरहेका छौँ र त्यसमा केही कानुनी कुराहरू पनि पुरा भएको छ । अहिले मन्त्रालये हामीलाई लाइसेन्स दिन बाँकी छ। स्वास्थ्य मन्त्रालयले त्यो लाइसेन्स दिने बित्तिकै हामीले सेन्टरबाट त्यो काम गर्न सक्छौँ।’
उनले नेपालमा टिबी, डेङ्गु र डायरिया सबैभन्दा बढी देखिने रोग रहेको उल्लेख गर्दै फोक्सोसम्बन्धी रोगहरू पनि चुनौतिकै रूपमा रहेको बताए। स्वास्थ्य क्षेत्रमा नेपालले कुष्ठरोग उन्मूलन गर्न सफल भएको र कालाजारको प्रकोप पनि निकै घटेको जानकारी दिँदै उनले खोप कार्यक्रम देशव्यापी रूपमा विस्तार हुनु मुख्य उपलब्धी भएको बताए।
डा. भट्टराईले डेङ्गु अझै पनि गम्भीर चुनौतीका रूपमा रहेको भन्दै प्रत्येक वर्ष यसकै कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताए।
उनले जलवायु परिवर्तनका कारण नयाँ–नयाँ रोग चुनौतीका रूपमा देखा पर्न थालेको कारण एन्टिबायोटिकले समेत काम नगर्ने अवस्था आउन थालेकाले चिकित्सकको परामर्शबिनै औषधि प्रयोग रोक्न कानुनी व्यवस्था आवश्यक रहेको पनि स्पष्ट पारे।
Shares

प्रतिक्रिया