कोरोना भाइरस संक्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ।
कोरोना ‘पोजेटिभ’ भएर अस्पताल भर्ना भएका विक निको भएर डिस्चार्ज भई ‘होम क्वारेन्टिन’को बसाइँसमेत पूरा गरेपछि अहिले उनको दिनचर्या फेरिएको छ। सोह्र दिनको अस्पतालको आइसोलेशन र थप सात दिन होम क्वारेन्टिनको बसाइँले केही पट्यार लागे पनि अहिले घरपरिवारका सदस्यलाई काममा सघाउन पाउँदा दैनिकी पनि फेरिएको उनले बताए।
चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा भर्ना भई १६ दिनपछि कोरोना पोजेटिभ निको भएर डिस्चार्ज भएका विकले भने, ‘अहिले आफू स्वस्थ्य भएको छु, बिहानदेखि साँझसम्म खेत जोत्ने र गोरु चराउन जाने काममा परिवारका सदस्यलाई सघाइरहेको छु।’
मुम्बईको एक होटेलमा काम गर्दै आएका विक कोरोनाको सन्त्रासका कारण त्यहाँको होटेल बन्द गरिएपछि गौरीफण्टा सीमा नाका हुँदै आफ्नो घर कैलाली फर्किएका थिए। उनले कोरोनाको महामारी सकिएपछि पुनः मुम्बई पुगेर पुरानै काममा फर्किने सोच बनाएका छन्। ‘यहाँ केही अवसर छैन, कोरोना शान्त भएपछि जीविका चलाउनका लागि पनि पुनः उतै जाने सोच राखेको छु’ उनले भने।
कोरोना पोजेटिभ भएर निको भई अस्पतालबाट डिस्चार्ज भएका अमृत शाहीको दैनिकी भने शारीरिक अभ्यास गर्ने र मोबाइलमा गेम खेल्नमै बित्ने गरेको छ। ‘दिनभरि घरमै बसेर शारीरिक अभ्यास र मोबाइलमा गेम खेलेर समय बिताउने गरेको छु, उनले भने, ‘घर बाहिर छरछिमेकमा जान नपाउँदा भने केही असजिलो अनुभव भइरहेको छ।’ दुबईबाट दिल्ली, काठमाडौं र नेपालगञ्ज हुँदै कैलाली पुगेका उनमा चैत ११ गते कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो। उनी २९ दिन आइसोलेशनमा बसेर कोरोना पोजेटिभ निको भई डिस्चार्ज भएका थिए।
होम क्वारेन्टिनको बसाइँ पूरा गरे पनि अझै उनीहरुले आफ्नो टोल र छरछिमेकमा आउजाउ गरिरहेका छैनन्। परिवारका सदस्यले अझै छरछिमेक र टोलमा नजान सल्लाह दिइरहेकाले आफू छरछिमेकमा नगई परिवारको काममा सघाइरहेको राज विकले बताए।
प्रदेशमा कोरोना संक्रमित भेटिएको पुष्टि भएका पाँचजनामध्ये चारजना पोजेटिभ निको भई यसअघि नै डिस्चार्ज भइसकेका छन्। संक्रमित एक महिला सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले क्वारेन्टिनमा बसिरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।
रासससँग कुरा गर्दै मन्त्री सुवेदीले क्वारेन्टिनमा औषधि छर्किने गरिएको र कतिपय क्वारेन्टिनमा झुलको समेत व्यवस्था गरिएकाले लामखुट्टेको टोकाइबाट आउन सक्ने अन्य रोगको जोखिम अहिले नदेखिएको बताए। ‘आइतबारसम्म प्रदेशभरि तीन हजार ५७२ जना क्वारेन्टिनमा बसिरहेका छन्’, उनले भने, ‘रोगको प्रभावकारी रोकथामका लागि जनचेतनामै बढी जोड दिइरहेका छौँ।’
क्वारेन्टिनको बसाइँ पूरा गरेकालाई घर पठाइँदै
कोरोना भाइरसको समस्या उत्पन्न भएसँगै प्रदेशका सबै जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा बसेका शंकास्पद व्यक्तिलाई पछिल्ला दिनमा होम क्वारेन्टिनमा बस्नुपर्ने गरी धमाधम घर पठाउन थालिएको छ। शंकास्पद व्यक्तिको नमूनाको जाँचको नतिजा नेगेटिभ आएसँगै १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई घर फिर्ता पठाउने गरिएको हो।
संकलित नमूनाको नजिता ढिलो आउँदा भने कतिपयले १४ दिनभन्दा बढी समय पनि क्वारेन्टिनमा बस्नुपरेको जनाइएको छ। क्वारेन्टिनको अवधि पूरा गरिसकेका व्यक्तिको हकमा उनीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा सात दिन होम क्वारेन्टिनमा बस्नुपर्ने सुनिश्चितता गरी घर पठाउने गरिएको हो।
संक्रमित क्षेत्रबाट आई प्रदेशका विभिन्न क्वारेन्टाइनको अवधि पूरा गरेका व्यक्तिको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा वा आरडिटी (-यापिड डाइग्नोसिस टेष्ट) परीक्षण नतिजा नेगेटिभ आएमा त्यस्ता व्यक्तिलाई थप सात दिन निजकै घरमा क्वारेन्टाइन बस्ने सुनिश्चितता गरी घर पठाउने गरिएको छ।
आरडिटी परीक्षणमा नतिजा पोजेटिभ आएका व्यक्तिलाई भने थप सात दिन क्वारेन्टिनमा नै राखी सम्बन्धित व्यक्तिको नमूनाको थप जाँच गर्ने गरिएको छ। क्वारेन्टिनमा बस्दै आएकाहरुलाई स्थानीय तहहरुले खानाको व्यवस्थापन गर्दै आएको छ। डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले क्वारेन्टिनमा बसेकाहरुलाई गाउँपालिका आफैँले खानाको व्यवस्थापन गरेको बताए।।
गाउँपालिका राष्ट्रिय महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहेका ओझाले भने, ‘सात दिन होम क्वारेन्टिनमा बस्नका लागि स्वघोषणापत्रमा हस्ताक्षर गराई क्वारेन्टिनमा बसेकामध्ये ४० जनालाई आइतबार घर फिर्ता गरिएको छ, उहाँहरु होम क्वारेन्टाइनमा बसे नबसेको बारे नियमित निगरानीको व्यवस्थासमेत गरिएको छ।’
नमूना परीक्षण
आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा पीसीआर र आरडीटी पद्धतिबाट गरी जम्मा १७ हजार १८ जना शंकास्पद व्यक्तिको नमूना परीक्षण गरिएको छ। पीसीआर पद्धतिबाट संकलन भएको शंकास्पद दुई हजार ८९५ को थ्रोट स्वाबको नमूनामध्ये दुई हजार ८८२ को परीक्षण हुँदा दुई हजार ८७७ को नतिजा नेगेटिभ आएको छ। जसमा पाँचजनामा यसअघि नै कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो। १३ नमूनाको नतिजा आउन बाँकी छ।
आरडीटी पद्धतिबाट आइतबारसम्म १४ हजार १३६ को नमूना परीक्षण भएकामा सबैको नतिजा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए। रासस

प्रतिक्रिया