मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (शनिबार बिहान) तराईका धेरै स्थान र उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ।
महाशाखाका मौसमविद् बिनु महजर्नका अनुसार अहिले काठमाडौँ उपत्यकामा पनि हुस्सु लागेको छ।
‘यहाँ यतिबेला भिजिबिलिटी (पारदर्शिता) ३ किलोमिटर छ’, उनले नेपालखबरसँग भनिन्।
मौसम महाशाखाले चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशका तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’

मौसमविद्का अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ।
आज मौसम यस्तो रहने प्रक्षेपण
दिउँसो : तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोसी प्रदेशका तराई भूभागमा मध्याह्नको समयसम्म तथा बाँकी तराई भूभागमा मध्याह्नपछि पनि कुहिरोको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
राति : तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
Shares

प्रतिक्रिया