काठमाडौँको ठमेलस्थित दुईवटा क्यासिनोमा भारतबाट आएको ठूलो गिरोहले चुम्बक जडित तास र आँखामा लेन्स लगाएर खेल्दै ठगी गरेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले ठगीमा संलग्न गिरोह र ठगी धन्दा पत्ता लगाएको हो।
पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवाडी पाण्डे रहेका छन्। क्यासिनो सञ्चालकसहित विभिन्न व्यक्तिको पहिचान भएपनि उनीहरू फरार छन्।

फरार रहनेमा विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर भन्ने मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेको परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
उनीहरूले ठगीका लागि क्यासिनोमा डमी खेलाडी खडा गरेका थिए।
यसरी खेलाडी राख्नका लागि तीन वटा होटलमा ११० वटा कोठा बुक गरेको पाइएको छ। होटल अलफ्टमा ४० वटा कोठा बुक गरिएको थियो। डमी खेलाडीहरूलाई यहाँ राखेको पाइएको छ। यस्तै होटल मेरियटमा ५० वटा र राडिसनमा २० वटा कोठा बुक गरेको खुलेको छ।

माहाकाया ग्रुपका दिनेश वर्माले क्यासिनोमा ५० प्याकेट तास र ४ सेट लेन्स भारतबाट खरिद गरेको पाइएको छ। बीपी ग्रुपका जनार्दन उप्रेतीले १२ सेट तास क्यासिनोमा प्रवेश गराएको, ३८ सेट होटलमा स्टक राखेको, दुई सेट आइलेन्स (आँखामा लगाउने लेन्स) को खालि डब्बा प्रहरीले बरामद गरेको छ।
एकजोर आइलेन्स डमी खेलाडीले लगाएको र खालि डब्बाको लेन्स गौरव खत्री र मोनु भन्ने निरजकुमारले लगाएरै फरार भएको प्रहरीको दाबी छ।
मुख्य खेलाडी दिनेश वर्मा र विक्रमसिंह नै भएको प्रहरीको दाबी छ। वर्मा भारतको हरियाणाका र सिंह उत्तराखण्डका हुन्। सिंह मुख्य खेलाडी हुन्।

चुम्बकजडित तास र आँखामा लगाउने लेन्स व्यवस्थापन वर्माले गरेका थिए। क्यासिनोमा जितेको रकम मध्ये ९० प्रतिशत सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरेका थिए। यही सहमती अनुसार दिनेश वर्माले विक्रम सिंह र प्रमोद मोरियालाई खेलाडीका रुपमा बोलाएको खुलेको छ।
उक्त लेन्स आँखामा २ देखि ३ घण्टासम्म लगाउन मिल्ने प्रहरीले जानकारी दिएको छ। वर्माले होटल अलोफ्टको कोठा नं २०८ मा चुम्बक जडित तास नीरजकुमारलाई दिएका थिए। बाँकी तास उनको कोठामा फेला परेका प्रहरीले बताएको छ।

नेपालबाट बीपी ग्रुपका खेलाडी विनोद भन्ने जनार्दन उप्रेती इभेन्टमा सहभागी भएको पाइएको छ। उनी नेपालको तर्फबाट मुख्य आयोजक रहेको प्रहरीको दाबी छ।
उनैले अन्य इभेन्ट आयोजक, खेलाडी, कर्मचारीलाई होटल, प्लेन टिकट, टेबल बुकिङलगायतका सम्पूर्ण काम गरेको, बीपी ग्रुपकै नामबाट होटल र क्यासिनोको बील भुक्तानी गरेको र स्वयम जुवा खेलेको खुलेको छ।
महाकाया समूहका सञ्चालक सुरेश माहाजनले नेपाल, भारत, श्रीलंका, भियतनाम र कम्बोडियामा यस्ता इभेन्ट आयोजना गर्ने गरेको प्रहरीको दाबी छ।

क्यासिनो प्राइडमा २ वर्षदेखि इभेन्ट सञ्चालन गर्दै आएको र क्यासिनो वाल्डोमा मंसिर २५ गतेदेखि २८ गतेसम्म इभेन्ट सञ्चालन भएको थियो। यस्तै वाल्डोमा इन्डियन फलास खेलाउन ७ देखि १० वटा टेबल बुकिङ गरेको पनि पाइएको छ।
यो समूहको क्यासिनो प्राइडका संचालक विनय साह र दावा सेट्टी भन्ने दावा शेर्पा लगायत अन्य केही नेपालीसँग पनि सम्पर्क देखिएको छ।


Shares

प्रतिक्रिया