अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वनको रकम हिनामिना गरेको आरोपमा डोटीको बडीकेदार गाउँपालिका-२ स्थित समाज कल्याण जनजागृति सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्यितारले सोमबार सामुदायिक वनका तत्कालीन अध्यक्ष पदमबहादुर पुन मगर, सचिव तारादेवी साउँद र कोषाध्यक्ष दिलबहादुर साउँदविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो। सामुदायिक वनको ३ लाख १ हजार ९९६ रुपैयाँ हिनामिनामा गरेको पाइएकाले मुद्दा दर्ता गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए।
अख्तियारले दायर गरेको आरोपपत्रमा नक्कली कागजात तयार गरी तालिमवाफतको २ लाख ३४ हजार ४९६ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ। त्यस्तै, वन विकासतर्फ नर्सरीबाट विरुवा खरिदै नगरी ६७ हजार ५ सय रुपैयाँ हिनामिना गरेको पाइएको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले तीनै जनालाई कैद सजायसँगै बिगो वाफतको रकम असूल उपर गराउनका लागि आदेश माग गरेको छ।
Shares

प्रतिक्रिया