समाज


एपीएफ अस्पतालले सेवा विस्तार गर्दै, फिल्ड अस्पतालबाट सर्वसाधारणलाई पनि सेवा दिने तयारी

एपीएफ अस्पतालले सेवा विस्तार गर्दै, फिल्ड अस्पतालबाट सर्वसाधारणलाई पनि सेवा दिने तयारी

नेपालखबर
पुस ७, २०८२ सोमबार १५:२१, काठमाडौँ

नेपाल एपीएफ अस्पतालले ३ सय शय्यासहितको सेवा विस्तार गरेको छ भने मेडिकल कलेजको लागि आधारभूत संरचना निर्माण कार्य जारी रहेको छ। 

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधारण नागरिकको सेवा सुविधाको लागि सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ। 

यसका लागि पछिल्लो ३ वर्षमा दुई वटा नयाँ माड्युलर अप्रेशन थियटरको निर्माण गरिएको अस्पतालले जनाएको छ। त्यस्तै, सहवीर थापा अन्कोलोजी युनिटको स्थापना गरिएको छ। यो युनिट स्थापनासँगै क्यान्सर रोगको उपचार सेवा समेत सुरु भएको अस्पतालले जनाएको छ। 

इन्ट्रानेट तथा इन्टरनेट जडित सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयमा टेलिमेडिसिन सेवा समेत सञ्चालन हुँदै आएको छ। यसबाट अस्पतालसम्म आउन नसक्ने बिरामीले सजिलै स्वास्थ्य सम्बन्धी जानकारी लिइरहेको अस्पतालको भनाइ छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ सय शय्या क्षमताको अस्पताल सञ्चालन गर्न २०८१ असोजमा एपीएफ अस्पताललाई ईजाजत पत्र दिएको थियो। त्यस्तै, सरकारी निर्णयअनुसार, अस्पतालले सर्वसाधारणका लागि पनि हेमोडायलेसिस सेवा सञ्चालनमा ल्याएको छ। 

अहिलेसम्म सुरक्षा एकाइ स्थापना तथा अन्कोलोजी युनिट सञ्चालन, टेडिमेडिसिन सेवा प्रदान, अतिरिक्त अस्पताल सेवा कार्यक्रम र व्यवस्थापन आदेश सम्बन्धी नीति तथा मापदण्डलाई कार्यान्वयमा ल्याएको अस्पतालले जनाएको छ। यससँगै थप भवन र पुनर्स्थापना केन्द्र निर्माण गर्ने तयारी भइरहेको जनाएको छ। 

यससँगै महोत्तरीमा छिन्नमस्ता फिल्ड अस्पताल, कास्कीमा मुक्तिनाथ फिल्ड अस्पताल, सुर्खेतमा महेश्वरी फिल्ड अस्पताल र कैलालीमा बैद्यनाथ फिल्ड अस्पतालबाट पनि विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्ने तयारी भइरहेको जनाएको छ। मातहतका क्षेत्रीय तथा फिल्ड अस्पतालमा फिजियोथेरापी सेवा विस्तार गर्ने योजना अनुरुप तयारी भइरहेको छ। 

यससँगै २०८२/८३ बाट नेपाल एपीएफ अस्पताल, बलम्बुमा एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साईन्सेस् सञ्चालनमा आएको छ। सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रबाट सञ्चालन गरिएको यस इन्स्टिच्युटमा प्रविणता प्रमाणपत्र तह नर्सिङका पढाइ भइरहेको छ। हालसम्म सःशुल्क ३६ र छात्रवृत्तिमा ४ विद्यार्थी अध्ययनरत छन्। 

कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातै प्रदेशमा रहेका फिल्ड अस्पताललाई स्थायी संरचनामा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ। यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डाक्टरको कमाण्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डाक्टरले कमाण्ड गर्नेछन्। स्थायी संरचना भएसँगै फिल्ड अस्पतालबाट सर्वसाधरणले पनि उपचार पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad