झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टि स्टेट नजिकै पूर्व-पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ।
शनिबार साँझ चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको छ।
प्रहरीका अनुसार। दुर्घटनामा झापाको भद्रपुर नगरपालिका-५ का २५ वर्षीय भुपाल अधिकारी र पहिचान नखुलेका करिब २६ वर्षका अर्का युवकको मृत्यु भएको छ।
दुर्घटना लगत्तै गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले शनिबार साँझ सवा ६ बजे दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।
मृतकको शव अहिले अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया