ad ad

समाज


महोत्तरीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुग्यो, कोरोनाको पनि आशंका

महोत्तरीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुग्यो, कोरोनाको पनि आशंका

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १०:३३,

महोत्तरीमा अज्ञात कारण थप दुई जनाकाे मृत्यु भएकाे छ। याेसँगै थाहै नभएकाे राेगका कारण मृत्यु हुनेकाे संख्या ११ पुगेको छ।

शनिबार बर्दिवास-१२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भंगाहा-६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ११ पुगेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दिवास-१२ मेघरोल र भंगाहा-७ मेघनाथ गोरहन्नामा गत मंगलबारदेखि मंगलबारसम्म ८ जनाको मृत्यु भइसकेको छ। तीमध्ये बर्दिवास-१२ का चार, भंगाहा-७ का ६ र भंगाहा-६ का एक जना छन्। ती तीनै वडाका बस्ती आपसमा जोडिएका छन्।

भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले विषाक्त घरेलु मदिरा पिएका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए। 

बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले शव परीक्षणको नतिजा आएपछि मात्र मृत्युको कारण निर्क्याेल गर्न सकिने जानकारी दिए।

विश्व स्वास्थ्य संगठनसहितको टोली बस्तीमा
अनुसन्धानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अमृत पोखरेल, विश्व स्वास्थ्य संगठनकी डा. सुदीपा खड्कासहित महोत्तरी जिल्ला स्वास्थ्य कार्यालयको टोली अहिले पीडित बस्तीमा पुगेको छ।

टोलीले बिरामीका लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा पोखरेलले जानकारी दिए।

मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ। रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

कोरोनाको पनि आशंका
यसैबीच कतै कोरोना संक्रमण पो हो कि भन्ने आशंकाले परीक्षणका लागि मृतकमध्ये दुई जनाको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘मृतकको आरडीटी जाँच परिणाम नेगेटिभ आएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘अब पीसीआर परीक्षणको रिपोर्ट आएपछि यकिन हुनेछ।’ 

ती बस्तीमा थारु, मुसहर, चमार, बाँतर (सर्दार) सहितका जनजाति र दलित समुदायको सघन बसोबास छ। मेघनाथ गोरहन्नाबाट एक साताअघि मात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .