ad ad

समाज


युद्ध सकिएको डेढ दशकपछि पनि बमबारुदले लिँदैछ रोल्पालीको ज्यान

युद्ध सकिएको डेढ दशकपछि पनि बमबारुदले लिँदैछ रोल्पालीको ज्यान

उजिर कार्की
बैशाख १९, २०७७ शुक्रबार १४:१,

२०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गर्दा ज्यान दिनेहरुको अग्रपंक्तिमा थिए रोल्पाली। युद्ध सकिएपछि त्यही रोल्पालाई आधारक्षेत्र बनाएर लडेका धेरै नेता पटक-पटक सत्तामा पुगे पनि। तर रोल्पालीले अझै द्वन्द्वको चोट भोगिरहेका छन्। 

द्वन्द्वरत पक्ष शान्ति सम्झौतामा आएपछि रोल्पा सत्ताबाट सायदै टाढा रह्यो। तर द्वन्द्वका बारुद रोल्पामा अझै बाँकी छन्। तिनले रोल्पालीहरुको ज्यान अझै लिइरहेको छ। 

बिहीबार त्रिवेणी गाउँपालिका ७ गैरीगाउँकाका गाईबाख्रा हेर्न गएका चार बालबालिका घर फर्किएनन्। उनीहरु बेवारिसे बम बिस्फोटमा मारिए।

द्वन्द्वकालमा यस्तै हुन्थ्यो। को, कहाँ, कतिबेला बिलाउँछ, ठेगान हुँदैनथ्यो।

बिहीबार बस्तु चराउन गएका ती बालबालिका द्वन्द्वमा छुटेको बमले मारिएको हुन सक्ने प्रहरीको अनुमान छ।

शुक्रबार घटनास्थलमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुक र रोल्पाका प्रहरी प्रमुख डीएसपी चित्रबहादुर गुरुङ पुगे।

घटनास्थल हेरिसकेपछि डीएसपी गुरुङले भने, ‘घटनास्थलमा भेटिएको बम हेर्दा द्वन्द्वकालमा माओवादी वा नेपाली सेनाले छाडेको हुनसक्छ, यो खालको बम त्यतिबेला उनीहरुले प्रयोग गर्थे।’

गाईवस्तु लिएर जंगलमा गएका बालबालिकाले दुई वटा बम भेटेको र लिएर फर्किने क्रममा बाटोमै पड्किएको हुनसक्ने डीएसपी गुरुङले अनुमान गरे।

घटनाबारे अहिलेसम्मको खबर प्रहरी अनुमानमा आधारित हो। घटना कसैले देखेनन्, जसले देखे उनीहरु रहेनन्। घटनास्थलमा अर्को पनि टुइन्च मोर्टार बम फेला परेको थियो। बिहीबार राति नै नेपाली सेनाको टोलीले उक्त बम निस्क्रिय पार्‍यो।

‘यी बम जंगलमा ओढारमा थिए होला, उनीहरुले भेटे र लिएर फर्किए,’ गुरुङले नेपालखबरसँग आफ्नो अनुमान सुनाए।

तत्कालीन रोल्पा क्षेत्र नं २ का सभासद गोकुल घर्तीले पनि केही दिन पहिले घटनास्थल नजिकै गहुँ काटिएको बताए। उनले पनि केटाकेटीले जंगलबाटै बम ल्याएको र त्यहाँ पड्किएको अनुमान गरे।

त्यस क्षेत्रमा यस्ता अरु पनि बम हुनसक्ने भएकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा खोजी गर्ने भएका छन्। २०६२ सालमा यो क्षेत्रमा नेपाली सेना र माओवादीको भीडन्त भएको थियो। त्यतिबेला नपड्किएका, छाडेर भागेका अथवा लुकाइएका बम अझै हुनसक्ने सुरक्षा निकायको अनुमान छ।

यो क्षेत्र तत्कालीन माओवादीको सुरक्षित क्षेत्र मानिन्थ्यो। दुम्ला घटनास्थलभन्दा एक घण्टा टाढा पर्छ।

‘दुम्ला क्षेत्रलाई माओवादीले सेल्टरका रुपमा प्रयोग गर्थ्याे’, पूर्वसभासद घर्तीले भने, ‘कतै भीडन्त भइसकेपछि यही क्षेत्रमा फर्किन्थे र हतियार पनि राख्थे।’

घर्ती यहीँका स्थानीय हुन्। उनले भने, ‘यो क्षेत्रले द्वन्द्वकालमा पनि दुवै पक्षबाट दुःख पायो, अहिले तीनै बेलाका बारुदले दुःख दियो।’

बम हेर्दा धेरै पुराना जस्ता नभए पनि ओढारमा भएकाले सुरक्षित रहेको हुनसक्ने सुरक्षाकर्मीको बुझाइ छ। गैरीगाउँमा अहिले प्रहरी निरीक्षकको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

बिहीबार साँझ ठूलो आवाज आएपछि स्थानीय घटनास्थलमा पुगे। जहाँ चार बालबालिकाका क्षतविक्षत भएका शव भेटियो। ११ वर्षीया विमला खत्री, उनका भाइ ५ वर्षीय विजय खत्री, छिमेकी १४ वर्षीय नोखिराम डाँगी र १३ वर्षीय गौरव नेपालीको घटनास्थलमै ज्यान गयो। अहिले उनीहरुको शव पोस्टमार्टमका लागि दाङ लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .