कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति नियुक्ति पेचिलो बनेको छ। विश्वविद्यालय ऐन, २०८२ मा भएको व्यवस्थाका कारण आवेदन नै नपरेपछि नियुक्ति प्रक्रिया अन्योलमा परेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत कात्तिक १५ गते १५ दिनको अवधि राख्दै उपकुलपति र रजिस्ट्रारका लागि आवेदन माग गरेको थियो। उपकुलपतिका लागि आवेदन नपरेपछि मन्त्रालयले मंसिर ५ गतेसम्म म्याद थप गर्यो। तैपनि आवेदन परेन।
शिक्षामन्त्री महावीर पुनले दुई पटक आवेदन खुलाउँदा पनि आवेदन नपरेको शुक्रबार सामाजिक सञ्जालमै लेखेका छन्। स्वास्थ्य क्षेत्रमा प्राध्यापक डाक्टर भएर १० वर्ष काम गरेको कोही भए आवेदन दिन उनको आग्रह छ।
‘सुदूरपश्चिम प्रदेश धनगढीनजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको लागि उपकुलपति पदको विज्ञापन दुई पटकसम्म गर्दा पनि कसैको निवेदन परेन। त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राडा भई १० वर्ष काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस्,’ पुनले लेखेका छन्।
‘कडा कानुनी प्रावधान’
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधिमा उपकुलपतिको योग्यता तोकिएको छ। कार्यविधिअनुसार उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधा (हेल्थ प्रोफेसनल एजुकेसन) मा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ। सो व्यक्ति ३५ वर्षमाथि हुनु पर्ने र ६१ वर्षसम्मको हुनु पर्ने प्रावधान राखिएको छ।
विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको, शैक्षिक वा प्राज्ञिक क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय कुशलता, नेतृत्व क्षमता, सीप र कौशल प्रदर्शन गरेको, प्राज्ञिक तथा अनुसन्धानमूलक परियोजना सफलतापूर्वक सम्पन्न गरेको, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको जर्नलमा अनुसन्धानमूलक लेख तथा सन्दर्भ सामग्री प्रकाशन गरेको हुनुपर्ने पनि कार्यविधिमा उल्लेख छ।
ऐन पास भएपछि शिक्षा मन्त्रालयले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गर्न प्राडा जयराज अवस्थीको संयोजकत्वमा प्राडा दीपक महरा, प्राडा भारती जोशी सहितको तीन सदस्य समिति गठन गरेको थियो। समितिले कार्तिक १५ गते उपकुलपतिपदका लागि आवेदन मागेको थियो।
समितिका संयोजक डा अवस्थी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनमा तोकिएको उपकुलपतिको योग्यताले इच्छुकलाई आवेदन दिन रोकेको बताउँछन्। जसलाई अवस्थी कडा प्रावधान भन्छन्।
‘तोकिएको योग्यता र निर्धारण गरिएको उमेर हदअनुसार उपकुलपतिका लागि दाबेदार नै भेटिएनन्। विद्यावारिधि र डीएम गरेका अधिकांश व्यक्ति ६१ वर्षमाथिका छन्। तर, हामीले ऐन अनुसार ६१ वर्षभन्दा कम उमेर भएकालाई मात्र उपकुलपतिका लागि आवेदन मागेका छौँ। ६१ वर्षभन्दा कम उमेरका केही व्यक्तिको अन्य योग्यता पुगेको देखिए पनि १० वर्ष विश्वविद्यालयको प्राध्यापक गरेका भेटिएनन्,’ उनी भन्छन्, ‘१० वर्ष प्राध्यापक भई काम गरेको र ३५ वर्षमाथि र ६१ वर्ष ननाघेको भनियो, यो सबै मिलेको व्यक्ति हामीसँग नभएको पुष्टि भयो।’
नेपालमा चिकित्सा शिक्षातर्फ डीएम कार्यक्रम पछि मात्र सुरु भएको भन्दै उनले डीएम गरेका ६१ वर्षका प्राध्यापक नभएको हुन सक्ने जनाए।
‘हामीसँग डीएम गरेको प्राध्यापक छन् होला। तर ६१ वर्षमुनिका नहुन सक्छन्। हामी आफैले पनि यस्ता व्यक्ति खोज्यौँ। केहीलाई आवेदन दिन प्रोत्साहन गर्यौँ पनि। सबै ६१ वर्षमाथिका मात्र पायौँ,’ डा अवस्थी थप्छन्, ‘ऐनमा प्रावधान कडा भएका कारण विश्वविद्यालयले उपकुपति नै नपाउने जस्तो देखियो छ।’
उपकुलपतिको पारिश्रमिक थोरै देखेर पनि भएका जनशक्तिले आवेदन नदिएको हुन सक्ने उनको अनुमान छ।
‘निजी अस्पतालमा ७–८ लाख पारिश्रमिक खाइरहेका हुन्छन्, भीसीको पारिश्रमिक ७०–८० हजार पनि छैन होला। अनि धेरै पारिश्रमिक खाइरहेका व्यक्ति उपकुलपति हुन इच्छुक नभएको हुन सक्छन्,’ उनले भने।
अध्यादेश ल्याउन सुझाव
संयोजक अवस्थीले थपिएको म्यादमा पनि आवेदन नपरेपछि ऐन नै संशोधन गनुपर्ने अवस्था देखिएको बताए। तत्काल ऐन संशोधन गर्न नमिल्ने हुदा यो सरकारले अध्यादेश ल्याउनु पर्ने बताउँछन्।
‘अहिलेको सरकारले अध्यादेशमार्फत ऐन संशोधन पनि गर्नसक्छ,’ संयोजक डा अवस्थीले भने, ‘अध्यादेश नल्याए विश्वविद्यालय लामो समय उपकुलपतिविहीन हुनेछ।’
शिक्षामन्त्री पुनलाई पनि सोही सुझाव दिएको उनले बताए।
‘अध्यादेश ल्याउने विषयमा मन्त्रीसँग छलफल भयो। मैले अध्यादेश ल्याउनु पर्छ भनेँ। तर मन्त्री पुनले भोलि संसद् आउँदा अध्यादेश पास भएन भने के गर्ने भन्नुभयो,’ उनी थप्छन् ‘यो त जोखिमपूर्ण काम नै हो, तपाईं जोखिम मोल्न तयार हुनुहुन्छ भने अध्यादेश ल्याउनुपर्छ भनेको छु।’
रजिस्ट्रारमा १० जनाको आवेदन
विश्वविद्यालयको रजिस्ट्रारका लागि भने १० जनाको आवेदन पारेको छ। ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्दसिंह विष्ट, बाराकी शिला मैनाली, बैतडीका भीमबहादुर चन्द र कैलालीका पदमराज जोशीको आवेदन परेको छ।
रजिस्ट्रार सिफारिस समितिले आवेदन परेका मध्येबाट प्रस्तुतीकरण अन्तर्वार्ताका आधारमा सात जनाको छोटो सूची बनाउने जनाएको छ। तीन जनालाई रजिस्ट्रार नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिने समितिका संयोजक अवस्थीले बताए।
विश्वविद्यालय, अस्पताल भवन २०७८ मा निर्माण भएको थियो। २०७३ असारदेखि निर्माण सुरु भएको विश्वविद्यालय निर्णय सम्पन्न भएको लामो समयसम्म पनि प्रयोगमा आएको थिएन। सरकारले गत असारमा संसदबाट गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ पास परेको थियो। दुवै सदनबाट पारित भएर असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको ऐन साउन २ गते देखि लागू भएको थियो।
गत असोज अन्तिममा उपकुलपति, रजिस्ट्रार सिफारिस समिति गठन भएको थियो। ऐन अनुसार सिफारिस समितिले ६० दिनभित्र उपकुलपति, रजिस्ट्रार नियुक्तिको लागि सिफारिस गर्नुपर्ने प्रावधान छ। ऐन अनुसार सिफारिस समितिले सिफारिस गरेका व्यक्तिबाट सभाले ३० दिनभित्र नियुक्त गर्नुपर्ने प्रावधान छ।
उपकुलपति र रजिस्ट्रार नियुक्तिपछि मात्रै विश्वविद्यालयका अन्य कर्मचारी नियुक्त गरिने गरिने छ।
Shares

प्रतिक्रिया