समाज


आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना, यी हुन् चट्याङबाट ज्यान जोगाउने उपाय

आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना, यी हुन् चट्याङबाट ज्यान जोगाउने उपाय

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १:१०,

आज (शुक्रबार) पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार पश्चिमका केही ठाउँमा त अहिले पनि वर्षा भइरहेको छ। र, यो पूर्व सर्ने क्रममा छ।

‘वर्षाको सम्भावना त अहिलेदेखि नै देखिन्छ,’ शुक्रबार बिहान साढे ७ बजे नेपालखबरसँग उनले भने, ‘सिस्टम (पानी पार्ने प्रणाली) पश्चिमबाट पूर्व सरिरहेकाले काठमाडौं उपत्यकालगायत स्थानमा दिउँसो वा अपराह्नपछि वर्षा हुने अनुमान छ।’

आज देशका केही स्थानमा तर जुनसकुै ठाउँमा हावाहुरी, चट्याङका साथ वर्षा हुने देखिएको उनले बताए।

विशेषगरी अहिले हावाहुरी र चट्याङबाट बच्नुपर्ने मौसम रहेको मौसमविद्को सुझाव छ।

मौसमविद् राजु प्रधानांगले चट्याङबाट बच्न यस्ता सुझाव दिएका छन्ः
१. चट्याङ कहाँ कतिखेर पर्छ थाहा हुँदैन त्यही भएर गड्यागुडुङ भएका बेला घरभित्रै बस्नु सुरक्षित हुन्छ। यस्तै गाडीभित्र हुनुहुन्छ भने पनि बाहिर ननिस्किने। 

२. घरबाहिर छौं भने अग्ला रूख, टावर, घर तथा बिजुलीको पोलनजिक नरहने, किनकि त्यसमा चट्याङ पर्ने सम्भावना हुन्छ। खुला ठाउँमा छौं भने घोप्टो परेर बस्नु सुरक्षित हुन्छ।

३. गड्याङगुडुङ अर्थात् मेघगर्जन भइरहेका बेला टेलिभिजन, टेलिफोन तथा डेस्कटप कम्प्युटर नचलाउने। किनकि त्यसका तार बिजुलीका पोलमा जोडिएका छन्, जसबाट चट्याङ आकर्षण हुन सक्छ।

४.तर मोबाइल तथा ल्यापटप चलाउन हुन्छ कि हुँदैन भन्ने विषयमा विज्ञका दुई खालका तर्क छन्। कसैले त्यसमा पनि धातु हुने भएकाले चट्याङ तानिन सक्छ भनेका छन् भने कसैले त्यसको तार कतै नजोडिने वेबमार्फत चल्ने भएकाले हुन्छ भनेका छन्।

५. घरमै पनि चट्याङ परेर दुर्घटना हुने गरेका छन्। तर पनि तुलनात्मक रूपमा बाहिर भन्दा घरभित्रै बस्नु सुरक्षित हुन्छ। घरमै चट्याङ पर्नाका कारणचाहिँ अर्थिङ (विद्युतीय साधन भूमिगत) गरिएको घर अलि सुरक्षित हुने र नगरिएको घर जोखिममा हुने देखिन्छ।

प्रिमनसुन सक्रिय, औसतभन्दा बढी वर्षा
यसपािल प्रिमनसुन (वर्षा लाग्नुभन्दा अघिका ३ महिना) मा औसतभन्दा बढी वर्षा भएको मौसमविद्ले बताएका छन्।

‘यसपटक औसतभन्दा बढी नै वर्षा भएको छ,’ मौसमविद् राजु प्रधानांगले भने, ‘साथै केही दिनयता प्रिमनुसन निकै सक्रिय भइरहेको छ।’

उनका अनुसार अहिले देशमा धेरै खालका प्रणाली एकसाथ उपस्थित भएकाले केही दिनयता प्रिमनसुन सक्रिय भएको हो र हावाहुरी, मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको हो।

‘अहिले प्रिमनसुन सक्रिय भएकाे छ, स्थानीय वायुका साथ पश्चिमी वायुको प्रभाव पनि छ, पूर्वी भूभागनजिक न्यून चापीय क्षेत्र बनेको छ। साथै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त वायुसमेत नेपाल प्रवेश गरिरहेको छ,’ मौसमविद् प्रधानांगले भने, ‘त्यही भएर अहिले दिनदिनै वर्षा भइरहेकाे हो।’

वर्षा अझै केही दिन जारी रहने सम्भावना रहेको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad