काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) का बुवा डा रामनारायण शाहको सोमबार ‘मल्टिपल अर्गान’ फेल भएर मृत्यु भयो। पिसाबको संक्रमण देखिएका उनको ७७ वर्षको उमेर निधन भएको हो।
पिसाबको संक्रमण उनको शरीरभरि फैलिएको थियो। संक्रमणका कारण उनी बेहोस भए। बेहोस हुनेबित्तिकै उनलाई आइतबार बिहान १० बजेर १५ मिनेट जाँदा नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पताल पुर्याएको थियो। अस्पताल पुग्दा उनको मुटुले काम गर्न छोडिसकेको थियो। उनलाई कार्डियाक अरेस्ट भएको चिकित्सकले परिवारलाई जानकारी दिए। तत्काल उनलाई सीपीआर दिइयो।
उनको मिर्गौलाले पनि काम गर्न छोडेको थियो। त्यसपछि तत्काल डायलासिस गराइयो। स्वास्थ्य अवस्था सुधार नभएपछि भेन्टिलेटरमा राखेर उपचार गरियो। तर, पिसाबको संक्रमण शरीरभरि फैलिएका कारण चिकित्सकले बचाउन सकेनन्। उपचारकै क्रममा सोमबार १२ बजेर २० मिनेट जाँदा उनको मृत्यु भयो।
अस्पतालका आईसीयू चिकित्सक डा प्रदीप तिवारीले पिसाबको संक्रमण शरीरभरि फैलिएका कारण शाहलाई ‘कार्डियाक अरेस्ट’ भएको जानकारी दिए।
‘उहाँलाई तीनचार दिनदेखि पिसाबको संक्रमण देखिएको रहेछ। संक्रमण शरीरभरि फैलिएर, मिर्गौला, कलेजोले काम गर्न छोड्यो। बिस्तारै मुटुले काम गर्न नपाएपछि कार्डियाक अरेस्ट भयो। त्यस कारण उहाँको मृत्यु भएको हो,’ उनले भने।
डा तिवारीले भने, ‘अस्पताल पुग्दा बेहोस हुनुहुन्थ्यो। तत्काल सीपीआर दिएका थियौँ। तर, अस्पतालबाहिर कार्डियाक अरेस्ट भएकालाई बचाउन निकै गाह्रो हुन्छ। अस्पताल बाहिर कार्डियाक अरेस्ट भएका १० देखि १५ प्रतिशत मात्र बाँच्ने सम्भावना हुन्छ। इन्फेक्सनले अन्य अंगमा असर गर्दा सेप्टिक सक भएको हो।’
आयुर्वेदिक चिकित्सक थिए डा शाह
रामनारायण शाहले भारतको गुजरात आयुर्वेद विश्वविद्यालय जामनगरबाट आयुर्वेदमा स्नातकोत्तर गरेका थिए। उनले लामो समय नरदेवी आयुर्वेदिक चिकित्सालयमा काम गरे। उनी २०५८ सालदेखि २०६३ सालसम्म सिंहदरबार वैद्यखानामा प्रबन्ध निर्देशक थिए। त्यसपश्चात आयुर्वेदिक विभागमा कार्यरत रहेका उनी १७ वर्षअघि अवकाश पाएर परिवारसँगै बस्दै आएका थिए।
गैह्रीगाउँ तीनकुनेमा बस्दै आएका उनको पुर्ख्यौली घर मधेस प्रदेशको महोत्तरी जिल्ला हो।
किन हुन्छ पिसाब संक्रमण?
चिकित्सकका अनुसार मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले हुने संक्रमण नै पिसाब संक्रमण हो।
मिर्गौला हुँदै पिसाब थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा कहीँ पनि समस्या भयो वा अवरोध भयो भने पिसाब जमेर संक्रमण हुनसक्छ।
पिसाब संक्रमण विभिन्न कारणले हुने गर्छ। यौनांगको सरसफाइ नहुँदा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुने गर्छ।
पुरुषमा उमेर बढ्दै जाँदा उत्पन्न हुने हर्मोनको असन्तुलनले प्रोस्टेटको आकार र तौल बढाउँछ। यसको अवस्थिति पिसाब नलीको मुख र थैलीको बीचमा हुने भएकोले यसको वृद्धिले मूत्र प्रणालीमा अवरोध गरेर त्यसले दैनिक जीवनमा प्रभाव पार्छ।
चिकित्सकका अनुसार पुरुषमा प्रोस्टेट ग्रन्थिको वृद्धि प्रायः ४० वर्षपछि सुरु हुने गर्छ।
प्रोस्टेटको समस्या सुरु भएपछि पिसाबनली साँघुरो हुने भएकाले पिसाबको बहाव कम हुन्छ। जसका कारण पिसाबथैलीमा रहेको पिसाब पूर्ण मात्रामा निख्रिँदैन र थैलीमा पिसाब जमेर रहन्छ। पिसाब जमेपछि थैलीमा ढुंगा बन्ने, पिसाब नलीमा समेत भार परेर मिर्गौला सुन्निने र संक्रमणसमेत हुन्छ।
चिकित्सकका अनुसार इन्फेक्सन पिसाबको बाटोबाट फैलिएर रगत हुँदै मिर्गौलासम्म फैलिएर मिर्गौला सुन्निने समस्या हुन सक्छ। समस्या अझै बढ्दै गएर ‘युरेसेप्सिस’ भएर बिरामीले जानै जाने जोखिम पनि हुन्छ।
त्रिवि शिक्षण अस्पतालमा युरोलोजिस्ट डा पवन चालिसे वृद्ध उमेर र मधुमेह भएका व्यक्तिमा प्रोस्टेटको समस्या देखिने जोखिम उच्च हुने बताउँछन्। वृद्ध पुरुषहरूमा प्रोस्टेट ग्रन्थीका कारण पिसाब नली साँघुरो हुँदै जाने हुनाले पनि संक्रमण हुने उनले बताए।
पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ, पिसाब राम्ररी निख्रेको छैन वा पिसाब नली साँघुरो छ भने संक्रमण हुने जोखिम धेरै हुन्छ।
डा चालिसे भन्छन्, ‘प्रोस्टेटका कारण सेप्सिस हुन्छ, जसले पिसाबको संक्रमण शरीरभरि फैलिन्छ, अझ मधुमेह भएका व्यक्तिमा यो समस्या देखिने दर निकै बढी छ। संक्रमण शरीरभरि फैलिएपछि यस्तो अवस्थामा बिरामीलाई बचाउन सकिँदैन।’
मधुमेह भएका वृद्ध व्यक्तिमा पिसाबको संक्रमणले निमोनियाको जोखिम निकै हुने उनी बताउँछन्।
‘पिसाब संक्रमण शरीरभरि फैलिएपछि शरीरका अंगहरूले काम गर्न छोड्छन्। भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने हुन्छ। यसको मृत्युदर पनि बढी छ, शरीरका अंगले एकै पटक काम गर्न छोड्ने हुँदा कहिलेकाहीँ औषधि उपचारले पनि बचाउन गाह्रो हुन्छ,’ डा चालिसेले भने।
उनका अनुसार युवा अवस्था भए बचाउन सकिने भन्दै उनले वृद्ध उमेरमा रोग प्रतिरोधात्मक शक्ति कम हुँदा उपचारले पनि बचाउन मुस्किल हुन्छ।
‘संक्रमण देखिएपछि एन्टिबायोटिक औषधि र उपचारले निको बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘तर, उमेर बढ्दै गएपछि निको हुने दर कम हुन्छ।’
Shares

प्रतिक्रिया