‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीले चोरी गरी बिक्री गरेको मोटरसाइकलसहित हेटौँडाबाट एक युवक पक्राउ परेका छन्।
हेटौँडा उपमहानगरपालिका–१५ भोर्ले निवासी २६ वर्षीय राजेश खातीले चोरी गरेर बिक्री गरेको बा.४० प ४२९५ नम्बरको मोटरसाइकलसहित सोही ठाउँका २१ वर्षीय अभिषेक वाइवा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले हेटौँडा उपमहानगरपालिका-७ हरियालीस्थित सडकखण्डमा प्रहरी टोलीले जाँच गर्ने क्रममा वाइवालाई पक्राउ गरिएको जानकारी दिए।
मोटरसाइकलका कागजपत्र नपाइएपछि थप अनुसन्धान गर्दा कारागारबाट भागेका खातीले चोरी गरेर बिक्री गरेको खुलेको हो।
खाती गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौँबाट फरार भएका थिए। केही दिनअघि प्रहरीले उनलाई पुनः पक्राउ गरी कारागार पठाइसकेको छ।
Shares

प्रतिक्रिया