समाज


नेपालमा काेराेना निकाे पार्ने औषधि तयार पारिएकाे दाबी

नेपालमा काेराेना निकाे पार्ने औषधि तयार पारिएकाे दाबी

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ६:५३,

अहिले विश्वभर आतंक मच्चाइरहेकाे कोरोना भाइरसविरुद्ध नेपालमै औषधि बनाइएकाे दाबी गरिएको छ।

हेटौंडामा रहेको वन-विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडीबुटीको सम्मिश्रणबाट आफूले कोरोना संक्रमण निको हुने औषधि बनाएको दाबी गरेका हुन्।

भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पीएचडी गरेका डा. दासले आफ्नो प्रयोगशालामा केही एन्टी-अक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्टबाट कोरोनाविरुद्धको औषधि बनाएको जानकारी दिएका छन्।

आफूले झन्डै १ महिना कडा मिहिनेत गरेर  औषधि बनाएको डा. दासकाे दाबी छ। तर त्यो औषधि कसरी कोरोनाविरुद्ध प्रभावकारी हुन्छ भन्ने परीक्षण हुन बाँकी छ।

यसको थप परीक्षण गर्ने स्रोत/साधन हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा नरहेकाले सहयोगका लागि डा. दासले सरोकारवालासमक्ष आग्रह गरेका छन्।

अध्ययन संस्थानका प्रमुख विजय यादवलगायत वैज्ञानिक र रसायन-विज्ञ बुधबार बिहान उनकाे प्रयोगशाला पुगेर त्याे औषधि अवलोकन गरेका छन्।  

सरकार, विश्वविद्यालय तथा विश्व स्वास्थ्य संगठनजस्ता अधिकारिक निकायले आफूले बनाएको औषधिको आवश्यक परीक्षण गरे यसले प्रभावकारी काम गर्ने डा. दासकाे दाबी छ। तर त्यसरी बनाइएका सम्भावित औषधि तथा खाेप प्रमाणित गर्न निकै समय र प्रक्रिया पार गर्नुपर्ने हुन्छ।

२२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा. दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .