ड्रेडलक कपाल, बेधक आवाज र बिन्दास पारा। जेन–जी आन्दोलनपछि चर्चामा आएकी उनको व्यक्तित्वलाई लिएर अनेक प्रश्न उठ्ने गरेका छन्। कतिले मुखै फोरेर पनि सोध्छन्, ‘तपाईं केटी नै हो त?’
त्यसैले होला, कुराकानीको सुरुमै उनले सचेत गराए, ‘मेरो नाम मोनिका निरौला हो। तर, म आफूलाई महिला भनेर चिनाउँदिनँ। म क्वेर हुँ र मलाई तटस्थ सम्बोधन गर्नुस्।’
यतिबेला जेनजीका अनेक समूह सक्रिय छन्। त्यसैमध्ये एक हो– जेनजी मुभमेन्ट अलायन्स। सोही समूहबाट १२ कार्तिकमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको जेनजी, राजनीतिक दलहरू र सरकारबीचको त्रिपक्षीय बैठकमा मोनिका सहभागी भएका थिए। यससँगै उनका बारेमा मान्छेहरूको चासो पनि बढ्न गयो।
भूकम्पले समाजसेवासँग जोडिदियो नाता
कति मान्छे मोनिकाको व्यक्तित्वलाई मन पराउँछन्। कतिले नराम्रो पनि मान्छन्। तर, यी कुराले उनलाई फरक पार्दैन।
यति हो, उनी आफूलाई अलग देखाउन रुचाउँछन्। त्यो पनि बाल्यकालदेखि नै।
मोनिकाको जन्म काठमाडौँको बौद्धमा भएको हो। उनको पुर्ख्यौली घर भने सोलुखुम्बु हो। उनका बुबाआमा सोलुबाट झापा झरेका थिए। र, त्यहाँबाट काठमाडौँ बसाइ सरे।
सेन्ट जेभियर्स स्कुल पढेकी मोनिका विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण भएपछि स्नातक तहको पढाइका लागि अमेरिका पुगे। उनले अमेरिकाको लाफायट कलेजमा छात्रावृत्तिमा अध्ययन गरेका थिए।

२०७२ सालमा नेपालमा विनाशकारी भूकम्प आउँदा मोनिका अमेरिकामै थिए। यहाँको बरबादीको खबर सुन्दा–देख्दा र आफूले केही गर्न नसक्दा उनी छटपटाउन थाले। मोनिका आफूले पनि ती विपदमा परेकाहरूलाई सहयोग गर्न पाए हुन्थ्यो भनेर सोचिरहेका थिए। तर उनी विद्यार्थी थिए, कमाइ थिएन।
तैपनि उनले उपाय निकाले।
मोनिका राहत रकम जुटाउन मःम बनाएर प्लेटको ५ डलरमा बेच्न थाले। अलिअलि क्राउड फन्डिङ पनि भयो। यसरी करिब १२ हजार डलर रकम उठ्यो।
त्यतिखेर मोनिकाको आफ्नो कुनै संस्था थिएन। त्यसैले उनले नेपालको लिडरसिप एकेडेमी नामक एनजीओसँग सहकार्य गरे। र, उनले उठाएको पैसाले सिन्धुपाल्चोकको हैबुङ र ठूलो सिरुबारी भन्ने ठाउँमा चार वटा घरहरू बने। दुई जना श्रीमान् गुमाएका महिला, एक अशक्त र एक एकल महिलाका लागि ती घर बनेका थिए।
समाजका लागि केही गरौँ भन्ने सोच त छँदै थियो। अलिकति पैसा उठाएर भूकम्प प्रभावितलाई सहयोग गरेपछि उत्साह अझ बढ्यो। उनले एनजीओ खोल्ने सोच बनाए। साथीहरूसँग सल्लाह गरे र खोले– सहायक नेपाल।
‘भूकम्पपछिको समयमा नेपालमा एनजीओ खोल्ने एउटा लहर नै चलेको थियो। त्यही क्रममा मैले पनि साथीहरूसँग मिलेर सहायक नेपाल नामक एनजीओ खोल्यौँ,’ उनी भन्छन्, ‘पिक सिजनमा बिहानदेखि बेलुकासम्म आयल्स पढाएर कमाएको पैसाले एनजीओ चलाउँथेँ।’
उनी एनजीओ खोल्दा नेपाल आएका थिए। त्यसपछि पनि हरेक जाडो र गर्मी यामको छुट्टीमा नेपाल आउने गर्थे।
एनजीओले फन्डिङ भने खासै पाउन सकेन।
‘भर्खरका युवाले चलाएको कारणले पनि होला,’ उनी भन्छन्।
उनीहरूले मकवानपुरमा पुस्तकालय खोल्न खोजेका थिए, तर त्यो योजना सफल हुन सकेन।
एनजीओमार्फत उनको समूहले किशोरीहरूलाई हिंसा, आत्मरक्षा, क्वेर राइट्ससँग सम्बन्धित विभिन्न जानकारी दिन विभिन्न कार्यक्रम र वर्कसपहरू दिने गर्थे।
२०२० मा उनी एक वर्षे अध्ययनका लागि बेलायत पनि पुगे।

अलग मोनिका
बाल्यकालदेखि नै मोनिका फरक हुन रुचाउँथे। उनको हाउभाउ, लुगा लगाउने तरिका अरुको भन्दा फरक थियो। मोनिका खुकुला लुगा लगाउँथे, कपाल पनि उनको अलग हुन्थ्यो। बाल्यकालमा छात्रा विद्यालयमा पढेको हुनाले उनको लवाइखवाइ र तौरतरिका देख्दा धेरैले केटाजस्तो भन्थे। दुर्वचन गर्थे, जिस्क्याउँथे।
एकजना छिमेकीले ‘यो त कस्तो केटा जस्तो! केटा हो कि केटी हो?’ भनेको मोनिका अझै सम्झिरहन्छन्।
सायद यही कारणले हुनसक्छ, बाल्यकालदेखि नै आफू हुर्केको सामाजिक संरचनाप्रति मोनिका सधैँ विद्रोही तरिकाले प्रस्तुत हुन्थे। पुरुषवादी समाजसँग सधैँ लडाइँ गर्नु पर्ने, महिला सधैँ दमनमा पर्नुपर्ने जस्ता कुराले उनलाई आक्रोशित बनाउँथ्यो।
यसैकारण आफूमा नारीवादी सोच र अधिकारको चेत आएको उनको भनाइ छ।
अमेरिकामा स्नातक तह पहिलो वर्षमा पढ्दै गर्दा त्यहाँको क्वेर क्लबमा उनी सहभागी भए। त्यहीँबाट उनले आफूलाई चिन्ने मौका पाए। र, आफूलाई क्वेर भन्न थाले।
‘जबदेखि एलजीबीटीआईक्यूको बारेमा बुझेर आफूलाई व्याख्या गर्ने शब्दावली सिकेँ, तबदेखि नै मैले आफूलाई क्वेर भन्न थालेँ,’ उनले सुनाए, ‘आफूलाई व्याख्या गर्ने शब्द पत्ता लगाउँदा खुसी लाग्यो।’
अलिक वैरागी किसिमको मान्छे भएकोले आफूलाई अरुले भन्ने कुराले खास फरक नपर्ने उनको भनाइ छ।
‘मेरो मुखमा कसैले केही पनि भन्दैन। अनि पछाडि मेरो बारेमा के भन्छन्, मलाई खासै फरक पर्दैन,’ उनले भने।

अनौठो स्वास्थ्य समस्या
अमेरिकाबाट नेपाल फर्किएपछि एनजीओको काममै व्यस्त रहन्थे मोनिका। उनलाई धेरै नै थकान महसुस हुन थाल्यो। त्यो बेला एक हप्ता लामो वर्कसप चलाउँथे। एक हप्ता काम गरेपछि अर्को एक हप्ता उनी सुतेरै बिताउँथे।
‘मलाई असाध्यै गाह्रो हुन्थ्यो,’ उनी भन्छन्।
कठिनाइ बढ्दै गएपछि उनले डाक्टरलाई देखाए। जाँचमा केही देखिएन।
डाक्टरले भने, ‘तपाईंको मोटोपनको कारणले यस्तो भएको हो। तौल घटाउनुहोस्।’
सन् २०२० मा मोनिका स्नातकोत्तर गर्न १ वर्षको लागि बेलायत गए। त्यहाँ उनले इस्ट एङ्लिया विश्वविद्यालयमा छात्रावृत्तिमा अध्ययन गरे। त्यहाँ पनि उनलाई गाह्रो भइरह्यो। अलिक धेरै समय पढ्न खोज्दा उनी निदाउँथे। उनलाई आफू बस्ने ठाउँदेखि युनिभर्सिटी पुग्न पनि गाह्रो हुन थाल्यो।
त्यसपछि उनले बेलायतमै एक जना डाक्टरलाई आफ्नो स्वास्थ्यमा आएका समस्याको बारेमा सूची नै बनाएर देखाए।
त्यहाँबाट मोनिकाले थाहा पाए, उनलाई ‘फाइब्रोमायल्जिया’ भएको रहेछ। यो एउटा त्यस्तो अवस्था हो, जसमा ज्यादमा अत्यधिक दुखाइ र थकान हुने गर्छ। र, यसको कुनै उपचार पनि छैन। जाँच्दा थाहा नपाइने, लक्षणबाट मात्र पत्ता लगाउनुपर्ने यस रोगलाई ‘इनभिजिबल डिस्याबिलिटी’ पनि भनिँदो रहे।
त्यसैले उनी थकान कम हुने काम मात्र गर्न सक्छन्।

जेनजी आन्दोलनमा सहभागिता
एक वर्षको अध्ययनपछि बेलायतबाट फर्किंदा नेपालमा कोभिड–१९ महामारी चलिरहेको थियो। त्यस समयमा काम पाउन निकै मुस्किल थियो। उनी विस्तारै महिलावादी तथा क्वेर अधिकारका क्षेत्रमा काम थाले।
यसै वर्ष भदैमा जतिबेला नेपालमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइयो, त्यतिबेला मोनिका एउटा एनजीओसँग जोडिएर काम गरिरहेका थिए।
‘त्यसले चाहिँ डिजिटल अधिकारसँग सम्बन्धित काम नै गरिरहेको थियो,’ उनले भने।
सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धभन्दा पहिले सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल विधेयकले पनि अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउन खोजेको हुनाले त्यतिबेला युवाहरू निराश रहेको उनको ठहर छ।
‘त्यसैमा हामीले कुरा उठाइरहेका थियौँ,’ मोनिका भन्छन्, ‘यस्ता कुराहरूलाई हेर्दा हाम्रो सरकार कति निरंकुश कति संकुचित हुँदै गइरहेको थियो भन्ने बुझ्न सकिन्छ। अझ क्वेर व्यक्तिहरूको हकमा त उनीहरूको अभिव्यक्ति नै अश्लील भन्ने पनि छ।’
त्यतिबेलै सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो। त्यसपछि युवाहरूको आक्रोश सडकमा पोखियो। मोनिका पनि विरोधमा उत्रिए।
तर, त्यसबेला आन्दोलनले यति ठूलो रूप लिन्छ भनेर मोनिकाले सोचेका थिएनन्।
‘२३ गतेको जेनजी आन्दोलनपछि २४ गतेको घटना चाहिँ मलाइ स्वभाविक लाग्छ,’ मोनिका भन्छन्, ‘२४ गतेको आन्दोलन जेनजीको मात्र थिएन। यो त एउटा जनआन्दोलन थियो।’
Shares

प्रतिक्रिया