काठमाडौँ महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपियाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट प्रदान गरेको छ।
महानगरबासी र विपन्न तथा वेवारिसे विरामीलाई निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रबार महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई सामान हस्तान्तरण गरेकी छन्।
दुर्घटना वा अन्य स्वास्थ्य समस्याका कारण हड्डीमा राख्नुपर्ने महँगो ‘इम्प्लान्ट’ सामग्री अभावका कारण विरामी उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ।
यसलाई सहज बनाउन महानगरको स्वास्थ्य विभागले सार्वजनिक खरिद प्रक्रियाबाट सामान खरिद गरेपछि प्राप्त भएका सामान सेन्टरलाई हस्तान्तरण गरिएको जनाएको छ। उपलब्ध गराइएका सामान ११५ प्रकारका छन्। यी सामानबाट करिब तीन सय जनाले निःशुल्क उपचार प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।
सामान हन्तान्तरण गर्दै कार्यवाहक मेयर डंगोलले महानगरले सामान मात्र हस्तान्तरण गरेको नभइ अस्पतालको क्षमतासँग सम्बन्धित विपन्न वर्गको निःशुल्क र सहज उपचार गराउने जिम्मेवारी पनि हस्तान्तरण गरिएको बताइन्। ‘सामान हामीले किन्न सक्थ्यौँ। किन्यौँ र अस्पताललाई दियौँ। यी सामानबाट महानगरबासी र विपन्न नागरिकको ठूलो समूहमा सेवा पुग्न सकोस्,’ उनले भनिन्।
त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. विवेक आचार्यले काठमाडौँ महानगरसँगको सहकार्यमा वीर अस्पतालमा थालिएको महिलाको स्तन र पाठेघरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचार नतिजामूलक रहेको उल्लेख गर्दै ट्रमा सेन्टरलाई दिएको सहयोगले सेवाप्रति थप उत्साहित बनाएको बताए।
कार्यक्रममा बोल्दै नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा. बद्री रिजालले काठमाडौँ महानगरपालिकाले नागरिकसँग सोझै जोडिने सहयोग गरेको बताए। यसबाट धेरै विरामीले पुनर्जीवन पाउने उनको भनाइ छ।
महानगरको स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीका अनुसार आर्थिक अवस्था कमजोर भएका वा पहिचान नखुलेका उपचारका लागि ट्रमा सेन्टरमा पुगेका विरामीलाई सेन्टरको सामाजिक सुरक्षा एकाइको सिफारिसका आधारमा निःशुल्क इम्प्लान्ट उपलब्ध गराइनेछ। महानगरबासीका लागि काठमाडौँ महानगरको स्वास्थ्य विभागले सिफारिस गर्नेछ।
सेन्टरमा वार्षिक करिब सात हजार जनाको शल्यक्रिया हुने गरेको छ। विपन्न वर्गको उपचारका लागि सरकारले प्रतिव्यक्ति एक लाख रुपियाँ उपलब्ध गराउने गरेको छ।
डा. मरासिनीका अनुसार यसले उपचार गर्ने आउनेमध्ये ९० प्रतिशतको उपचारका लागि पुग्छ। बाँकी १० प्रतिशत विरामीको उपचारका लागि थप स्रोत जुटाउनु पर्ने अवस्था छ।
एउटा इम्प्लान्ट किन्न प्रकृति अनुसार दुई सय रुपियाँदेखि १० लाख रुपियाँसम्म पर्छ। एक जना व्यक्तिलाई कति वटा इम्प्लान्ट चाहिन्छ भन्ने कुरा चाहिँ चोटपटकको अवस्थाले निर्धारण गर्छ। सेन्टरमा गराइएका उपचार हेर्दा औसतमा दुई लाख रुपैयाँदेखि दुई लाख ५० हजार रुपियाँसम्म खर्च आउने गरेको छ।
Shares

प्रतिक्रिया