अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको स्वास्थ्य कार्यालयका तत्कालीन निमित्त प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले १५ लाख आठ हजार ५५७ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा स्वास्थ्य कार्यालय बाजुराका शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी छन्।
बाजुराको हिमाली गाउँपालिका–६ स्थित प्रसूति केन्द्र भवन निर्माण कार्य लागत अनुमानानुसार नगरी बढी भुक्तानी गरेर रकम हिनामिना गरेको भन्ने उजुरीपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान अघि बढाएको थियो।
उनीहरूले १५ लाख आठ हजार ५५७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। दायर मुद्दामा उनीहरूसँग १५ लाख आठ हजार ५५७ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
Shares

प्रतिक्रिया