नेपाली कांग्रेसका भ्रातृसंगठनका पदाधिकारीहरूले महिलालाई समानुपातिक उम्मेदवार बनाउने तथा उपभोक्ता समितिमा मात्र सिमिति राख्ने परपाटी छोड्नुपर्ने बताएका छन्।
बिहीबार पार्टीनिकट नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनीहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य सुष्मा पाण्डेले नेपालमा अहिले पनि महिलालाई नेतृत्व गर्नसक्ने कोणबाट हेर्ने वातावरण नबनेको भन्दै दुःख व्यक्त गरिन्। उनले महिलालाई सामानुपातिक र उपभोक्ता समितिमा मात्र सिमित राखिने गरेको भन्दै आक्रोश व्यक्त गरिन्। अब पनि महिलालाई उपमाको दर्जामा राख्ने छुट नेपाली कांग्रेसलाई नभएको पनि स्पष्ट पारिन्।
उनले भनिन्, ‘अहिले पनि हाम्रो देशमा महिलालाई नेतृत्व गर्नसक्ने कोणबाट हेरिदैन। महिलालाई समानुपातिक सिटमा मात्र सिमित राखिन्छ। महिलालाई उपभोक्ता समितिमा सिमित राखिन्छ। राज्यको कुनैपनि क्षेत्रमा महिलालाई उपको दर्जामा राख्ने गरिन्छ। यस्तो अब नेपाली कांग्रेसले गर्दैन। गर्न छुट पनि छैन।’
पार्टीकी महासमिति सदस्य इन्दिरा निरौलाले विगतमा नेपाली कांग्रेसकी नेतृहरूले मुलुकको विकास र हितका लागि गरेको बलिदानी स्मरण गरिन्। उनले जेनजी आन्दोलनपछि देश र पार्टी दुवै पीडामा रहेको भन्दै मुलुकलाई निकास दिन पार्टी अग्रसर हुने बेला आएको बताइन्।
उनले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा आम नागरिकले नेपाली कांग्रेसको निर्णय कुरिरहेको भन्दै केन्द्रीय समिति बैठकलाई छिटो निष्कर्षमा पुर्याउन आग्रह समेत गरिन्। उनले संवधानअनुसार पार्टीमा महिला सहभागिता सुनिश्चित गर्न ध्यानाकर्षण समेत गराइन्।
उनले भनिन्, ‘देशको हरेक समस्या समाधानका लागि उभिने कांग्रेस जेनजी आन्दोलनपछि त्यो आन्दोलन कांग्रेसविरुद्ध नै भएको हो कि जस्तो भएको छ। पतिसँगै सती जाने युगदेखि आज हामी यहाँसम्म पुग्न योगदान गर्ने सबैलाई सम्झन चाहान्छु। अहिले देश र नेपाली कांग्रेस दुवै प्रसव पीडामा गुज्रिरहेका छन्। देश अहिले नेपाली कांग्रेसको निर्णय कुरेर बसिरहेको छ। विगत एक महिनादेखि केन्द्रीय समितिको बैठक बसेको छ। पार्टी निर्वाचनमा जाने कि संसद पुनः स्थापनाको पक्षमा जाने भन्ने निक्र्यौल पार्टीले दिन सकेको छैन। म सानेपालाई भन्न चाहान्छु। केही अमुख नेपालहरूले सिनियर नेताहरूलाई दोष लगाएर सानेपालाई बन्धक बनाउन्दै हुनुहुन्छ।’
छलफलमा बोल्दै नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गत भदौ २४ को विध्वंशबारे पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने माग राखे। उनले विद्रोहको पछिल्लो दिन पार्टी सभापतिसहितका नेताहरूको निजी आवासमा भएको आगजनी र तोडफोडको छानविनका लागि सरकारको ध्यानाकर्षण गराउन पार्टीले आधिकारि निर्णय गर्नुपर्ने पनि बताएयो। उनले सिंहदरबार जलाउने कार्यमा संलग्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसहितको भण्डाफोर गर्नुपर्ने पनि बताए।
उनले भने, ‘हाम्रो समेत समर्थन रहेको जेनजी आन्दोलनको क्रममा केही दुःखद् घटनाहरू घटे। आन्दोलनपछि भएको विध्वंसमा पार्टीका सभापतिसहित धेरै नेताहरूको घरमा लुटपाट र आगजनी भयो यो सबै कुरामो पार्टीले जवाफ दिनुपर्ने थियो। २४ भदौको घटनाबारे कांग्रेसको धारणा आम नागरिकले खोजिरहेका छन्। आज सिंहदरबार जल्दै गर्दा हिजो यीनै बालेन शाहहरूले सिंहदरबार जलाउने सपना देखेका थिए। त्यो आज पुरा गरेका छन्। यीनको फण्डाफोर आज नेपाली कांग्रेसले गर्ने कि नगर्ने? यीनिहरू विरुद्ध आज जान सकेनौं भने भोलि पनि यस्तै षड्यन्त्रहरूमा हामी फस्न सक्छौं। हामी भन्दै आएका छौं भदौ २४ को घटनामा हामीले जोगाउन सकेनौं। त्यो दुःख पनि हामीलाई छ।’
पार्टीका युवा नेता अबुल हुसेन अन्सारीले महिलाको सन्दर्भमा पार्टीले धेरै बोल्ने तर कार्यान्वयन नगर्ने स्थिति रहेको बताए। उनले पार्टीले अगामी निर्वाचनपछि प्रधानमन्त्री र राष्ट्रपतिको उम्मेदवार समेतमा महिलालाई अघि सार्नुपर्ने बताएयो। पार्टी सभापति समेत महिलालाई बनाउनुपर्नेमा उनको जोड छ।
उनले भने, ‘हामी र हाम्रो पाटीले धेरै भाषण गरिसक्यो तर तर हाम्रो दिदि बहिनिको कुरा आयो भने सबै लुक्ने काम गर्छ। अब नेपाली कांग्रेसले आउने चुनावमा प्रधानमन्त्री, राष्ट्रपति र पार्टीको सभापति पनि महिलाबाट अगाडि सार्नुपर्छ। यो मेरो माग हो। जेन–जी आन्दोलनको बलमा पार्टीले अब सबैभन्दा ठूलो क्रान्ती महिलाहरूको नाममा गर्नुपर्छ। र त्यो महिलाहरूको नाममा भनेको तीनवटा कुरा हो। राष्ट्रपति पनि अब नेपाली कांग्रेबाट महिलालाई दिनुपर्छ। अरु पार्टीबाट महिला राष्ट्रपति मुलुकले पाइसक्यो हाम्रो पार्टीबाट कहिले?’
छलफलमा सहभागी अधिकांश वक्ताहरू संवैधानिक अधिकारअनुसार राज्यको सबै निकायमा महिला सभागिता सुनिश्चित गर्न पार्टीभित्रैबाट थालनी गर्नुपर्ने धारणा राखे।
Shares

प्रतिक्रिया