समाज


देशभरका हिरासतबारे गम्भीर हुन सरकारलाई मानवअधिकार आयोगको आग्रह

देशभरका हिरासतबारे गम्भीर हुन सरकारलाई मानवअधिकार आयोगको आग्रह

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १९:१५, काठमाडौँ

राष्ट्रिय मानवअधिकार आयोगले देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी ‘जेनजी’ प्रदर्शनका क्रममा हिरासतबाट भागेका थुनुवा र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा सुरक्षामाथि चुनौती थपिएको भन्दै समस्या समाधान गर्न आग्रह गरेका छन्।

‘जेनजी प्रदर्शनका क्रममा हिरासतबाट भागेका थुनुवा र लुटिएका हतियार फिर्ता नहुँदा शान्तिसुरक्षामा चुनौती थपिएको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनका क्रममा क्षति पुगेका भौतिक संरचना निर्माण गर्न र हिरासतमा रहेका थुनुवाका लागि अत्यावश्यक सामग्रीका लागि बजेट अभाव रहेको जानकारी प्राप्त भएको छ। हिरासतमा विद्यमान यी समग्र समस्याको समाधानमा गम्भीर हुन आयोग सरकारलाई आग्रह गर्दछ।’

आयोगको टोलीले प्रदर्शनपश्चात उपत्यकाभित्रका हिरासत कक्षको अवस्था सम्बन्धमा यही कात्तिक २७ र २८ गते अनुगमन गरेको जनाएको छ। त्यस क्रममा काठमाडौँका सोह्रखुट्टे, स्वयम्भू, कोटेश्वर, सिंहदरबार, महाराजगञ्ज र कालीमाटीस्थित प्रहरी वृत्त, ललितपुरको जिल्ला प्रहरी परिसर तथा सातदोबाटो वृत्त र भक्तपुरको जिल्ला प्रहरी परिसर, जगाति, मध्येपुर र ठिमीस्थित प्रहरी वृत्तका हिरासतमा रहेका थुनुवाको मानव अधिकार अवस्था र हिरासतको भौतिक संरचनाको अवस्थालगायत विषयमा स्थलगत अनुगमन गरिएको थियो। आयोगका प्रदेश तथा प्रदेश शाखा कार्यालयमार्फत पनि उपत्यका बाहिर रहेका हिरासत कक्षको अनुगमन सुरु गरिएको पनि जनाइएको छ।
 

आयोगले प्रदर्शनका क्रममा आपराधिक क्रियाकलाप गरेको प्रमाणका आधारमा केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी भनाइ पाइएको जनाएको छ। ‘जेनजी प्रदर्शनका क्रममा प्रहरीका अधिकांश भौतिक संरचना क्षति भएको र हाल स्थानीय समुदायको सहयोगमा कतिपय संरचना निर्माण भई सञ्चालनमा आएको, हिरासतबाट बाहिर निस्केका केही थुनुवा अझै पनि फिर्ता नआएको देखिएको छ’, आयोगले भनेको छ, ‘प्रहरीसमेत घाइते भएका र उनीहरूको मनोबल कमजोर बनेको, कतिपय प्रहरी कार्यालयमा रहेका फाइल जलेर नष्ट भएको र हतियार लुटिएको लगायतका जानकारी अनुगमनका क्रममा प्राप्त भएको छ।’

आयोगले ‘जेनजी’ प्रदर्शनपश्चात प्रहरी हिरासतमा मानवअधिकारको अवस्थाबारे आयोगमा गुनासा, उजुरी र ज्ञापनपत्र प्राप्त भएका, आन्दोलनपश्चात पक्राउ गरिएका प्रदर्शनकारीको स्वास्थ्य परीक्षण गरिएको पाइएको, हिरासतमा रहेका शौचालय तथा सरसफाइको अभावका कारण दुर्गन्ध आएको पाइएको जनाएको छ।

केहीले आफूलाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिएको आयोगको टोलीसमक्ष गुनासो गरेका र केहीले हिरासतमा महिला कक्षका साथै भौतिक संरचनाको अभाव रहेकालगायत जानकारी अनुगमनबाट प्राप्त भएको जनाइएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad