समाज


दुई लिटर दूधले सुरु गरेको व्यवसायबाट ९० लाखको सम्पत्ति

दुई लिटर दूधले सुरु गरेको व्यवसायबाट ९० लाखको सम्पत्ति

डेरी सञ्चालन गरिरहेका कञ्चनपुरको शुक्लाफाँटाका शिवचरण राना।


नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार ६:४५, दोधारा चाँदनी

भारतमा मजदूरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन्।

मजदूरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएको बताउँछन्। कुनै वेला भारतमा मजदूरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका हुन्।

मजदूरी छोडेर मालिक बन्न धेरै मेहनत र सङ्घर्ष गरेको उनी सुनाउँछन्। उनले २०६८ सालदेखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न शुरू गरेका थिए। दुई लिटर दूधबाट व्यवसाय शुरू गरेको उनी बताउँछन्। ‘दुई लिटर दूधबाट शुरू गरेको थिएँ, बिस्तारै दूध बढी सङ्कलन हुन थाल्यो,’ रानाले भने, ‘अहिले एक हजार पाँच सय लिटर दूध सङ्कलन हुन्छ।’ 

भारतमा मजदूरी गर्दा साह्रै दुःख खेपेको उनी सुनाउँछन्। त्यही दुःखले घर फर्केर व्यवसाय गर्न शुरू गरेको उनको भनाइ छ। ‘भारतमा मजदूरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालें,’ उनले भने, ‘यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु।’

शुरुआतमा साइकलमा दूध सङ्कलन गर्दै हिँडेका थिए। पछि आफ्नै डेरी स्थापना गरे।  अहिले गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएका छन्। 

दूध बोक्न ६ जनालाई काममा लगाएका छन्। उनीहरूले मासिक २० देखि २६ हजार रुपैयाँसम्म तलब पाउँछन्। 

व्यवसायबाट रानाले करीब ९० लाख रुपैयाँ बराबरको सम्पत्ति समेत जोडेका छन्। ‘दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ,’ उनले भने, ‘डेरीबाट एकदमै खुशी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु।’

पछिल्लो समय स्वदेशमा रोजगारी नभएको भन्दै थुप्रै युवा विदेश पलायन भइरहेका छन्। विदेशमा गरिने दुःखभन्दा आफ्नै भूमिमा केही गर्नुपर्छ भन्दै फर्किनेहरू पनि थुप्रै छन्।

विदेशको जागिर छोडेर आफ्नै गाउँघरमा परिश्रम गरेका रानाको सफलता लोभलाग्दो छ। उनी अहिले समाजमा उदाहरणीय व्यक्ति बनेका छन्। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad