समाज


सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १६:४०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट भएका छन्।

सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार सार्वजनिक सूचना आह्वान गरेपछि ११९ जना आवेदकले आवेदन दिएका थिए। उनीहरूमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना महिला गरेर ६५ जना छानिएका छन्।

यसमा स्वास्थ्य (पब्लिक हेल्थ, मेडिकल हेल्थ, मनोविद् तथा मनोचिकित्सक, भेटनरी हेल्थ), शिक्षा, कृषि, पर्यटन, सूचना प्रविधि, सुरक्षा, वाणिज्य, भौगोलिक सूचना, इलेक्ट्रिकलगायत क्षेत्रका व्यक्तित्व छन्।

कामपाको सिल्भर भोलेन्टिएर परिचालन कार्यविधि, २०७७ ले यस कार्यक्रममा काम गर्न केही योग्यता तोकेको थियो। जसअनुसार नेपाली नागरिक, प्रचलित कानुन बमोजम स्वीकृति लिएका गैरआवासीय नेपाली, प्रचलित कानुन बमोजिम स्वीकृति लिएका विदेशी नागरिकले यो कार्यक्रममार्फत स्वयंसेवा गर्न पाउँछन्।

यसमा ४५ वर्ष पूरा भई ७५ वर्ष ननाघेको हुनुपर्छ। सरकारी, निजी वा गैरसरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको हुनुपर्छ। एक वर्ष अवधिका लागि हप्ताको न्यूनतम ५ घण्टा सेवा दिन तयार हुनुपर्छ।

शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम हुनुपर्छ। स्वयंसेवा गर्न पूर्णरूपले तत्पर र इच्छुक हुनुपर्छ । फौजदारी अभियोगमा कसुरदार नठहरिएको र प्रचलित कानुन बमोजिम अयोग्य नठहरिएको व्यक्ति यस कार्यक्रमका लागि योग्यता हुन्।

भोलेन्टिएर परिचालनसँग सम्बन्धित कार्यक्रमको योजना, पहिचान, व्यवस्थापन, अनुगमन तथा नियन्त्रण गर्ने कार्यका लागि सहरी योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा समिति गठन हुने व्यवस्था छ।

यसमा प्रमुखले तोकेको नगर कार्यपालिका सदस्य एक जना, सम्बन्धित क्षेत्रका विज्ञमध्येबाट एक जना महिलासहित दुई जना, आयोगका सदस्यहरूमध्येबाट उपाध्यक्षले तोकेको एक जना सदस्य रहने व्यवस्था छ। समितिमा सामाजिक विकास विभागका सदस्य पदेन सदस्य र आयोगको अधिकृत सदस्य–सचिव रहने व्यवस्था छ।

कामपाअन्तर्गत रहेका सामुदायिक शैक्षिक तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल तथा यातायात व्यवस्थापन, वातावरण व्यवस्थापन, सार्वजनिक सेवा सहजीकरण सिल्भर भोलिन्टियरका क्षेत्र हुन्।

यससँगै सामाजिक सेवा प्रदान गर्ने सङ्घसंस्था, साना तथा घरेलु उद्योगहरूको सेवाको गुणस्तर बढाउने यस कार्यक्रमले लिएका लक्ष्य रहको छ। लामो समय काम गरी सेवा निवृत्त भएका व्यक्ति रहने व्यवस्था रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad