उत्तर कोरियाको मुख्य सरकारी पत्रिका रोदोङ सिनमुनका अनुसार हाल उनसान क्षेत्रलाई पर्यटकीयस्थल बनाउने हिसाबले काम जारी छ।
किमले सोही क्षेत्रमा कार्यरत कामदारप्रति राम्रो काम गरेकोमा आभार व्यक्त गरेको रोदोङ सिनमुनसँगै केसीएनएले पनि उल्लेख गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।
सार्वोच्च नेता किमको मृत्यु भएको हल्लाबीच उनले कामदारलाई धन्यवाद दिँदै आभार व्यक्त गरेको समाचार उत्तर कोरियाली संचारमाध्यममा सार्वजनिक भएका हुन्।
यद्यपी उनको अवस्थाका बारेमा भने केसीएनए र रोदोङ सिनमुनले केही उल्लेख गरेको छैन। केही समययता उनको तस्बिर र भिडियो पनि सार्वजनिक भएका छैनन्।
गतहप्ता दक्षिण कोरियाली संचारमाध्यम डेली एनकेले किमको स्वास्थ्य अवस्था गम्भीर भएको दाबी गरेको थियो।
डेली एनकेले किमले अप्रिल १२ मा मुटुको सर्जरी गराएको जानकारी दिँदै पछिल्लो समय उनको स्वास्थ्य बिग्रँदै गएको बताएको थियो।
उत्तर कोरियाका संस्थापक नेता किमका हजुरबा किम इलसङको नाममा अप्रिल १५ तारिखमा मनाइने उत्सवमा किम जोङ उन अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो।
आइतबार किमको मृत्यु भएको हल्ला विश्वभर फिजिएको थियो। जुन दक्षिण कोरियाले अस्वीकार गरिसकेको छ।
मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहित विभिन्न खाले हल्ला फैलिएका बेला दक्षिण कोरियाले उनी स्वस्थ नै रहेको जनाएको हो।
दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका राष्ट्रिय सुरक्षासम्बन्धी विशेष सल्लाहकार मुन चुङ इनले सीएनएनसँग आइतबार भनेका छन्, ‘किम जोङ उन राम्रो अवस्थामा छन्।’
नेता किम अहिले उत्तर कोरियाको पूर्वीतटीय क्षेत्रको उनसानमा रहेको उनले बताएका छन्।
हालै किमले चढ्ने विशेष किसिमको हरियो रङको रेल उनसान क्षेत्रमै पार्क गरिएको देखिएको थियो।
प्रतिक्रिया