जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नो कार्यालयमा भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाहेरी दिएको छ।
अख्तियारले मंगलबार क्षतिको विवरणसहित जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
अख्तियारले आफ्नो जाहेरीमा २४ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको छ। अख्तियारको विधि विज्ञान प्रयोगशालासहित प्रशासनिक भवनमा आगलागी भएको थियो। कम्प्युटर, ल्यापटप लगायत अनुसन्धानका क्रममा रहेका मोवाइलहरु समेत लुटपाट भएका छन्। कार्यालयमा रहेका सवारी साधान पनि प्रदर्शनकारीले जलाएका छन्।
यी घटनामा संलग्नलाई कारबाही गर्न अख्तियारले माग गरेको हो। केन्द्रीय कार्यालय बाहेक पनि क्षति भएका कार्यालयले सम्बन्धित प्रहरी कार्यालयमा निवेदन दिने भएका छन्।
सर्वोच्चसहित अदालतका पनि जाहेरी
यस्तै, सोही आन्दोलनमा भएको विध्वंशको अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतले पनि जाहेरी दिएको छ। सर्वोच्च अदालतले चार दिन पहिले नै जाहेरी दिइसकेको काठमाडौँ प्रहरीका प्रवक्ता भट्टराईले बताए।
उनका अनुसार जिल्ला अदालत काठमाडौँले पनि जाहेरी दिएको छ। सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशको बैठक) ले नै अदालतमा भएको क्षतिको अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिने निर्णय गरेको थियो।
क्षति भएका सबै अदालतलाई सम्बन्धित जिल्लामा जाहेरी दिन पनि फुलकोर्टको निर्णय अनुसार निर्देशन दिइएको थियो। आगलागीबाट अदालतमा ठूलो संख्यामा मुद्दाका फायलहरु जलेका छन्। सर्वोच्च अदालतसहित क्षति भएका अदालतहरु पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन्।
सर्वोच्च अदालतका केही इजलास मात्रै सञ्चालनमा छन्। जिल्ला अदलात काठमाडौँसहित अन्य अदालतहरुमा पनि सुनुवाइ प्रभावित भएको छ।
Shares

प्रतिक्रिया