जेनजी आन्दोलनमा भदौ २३ र २४ गते भएका घटना जाँचबुझ गर्न गठित आयोग नक्खु कारागार पुगेको छ।
भदौ २४ गते नक्खु कारागारबाट रवि लामिछानेसहितका कैदीबन्दी फरार भएको विषयमा बुझ्न आयोगको टोली सोमबार दिउँसो कारागार पुगेको हो। कारागार पुगेर आयोगले त्यहाँबाट कैदीबन्दी कसरी भागे भन्ने विषयमा सोधपुछ गरेको छ।
आयोगको टोलीले सहकारी ठगीमा कारागारमा रहेका रवि लामिछाने, कारागारका नाइके, भाइनाइके र चौकीदारसँग पनि सोधपुछ गरेको छ।
यसअघि आइतबार आयोगले कारागारका जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको थियो। जोशीसँग रवि लामिछानेलाई जेलबाट कसरी छाडिएको हो भन्ने विषयमा सोधपुछ गरेको थियो।
जेलर जोशीले आफूलाई बलजफ्ती रवि लामिछानेकै व्यक्तिहरुले तयार गरेर ल्याएको पत्रमा हस्ताक्षर गराइएको बयान दिएका छन्। उक्त पत्रमा विवरण के थियो भन्ने पनि आफूलाई जानकारी नभएको र बाध्य भएर हस्ताक्षर गरेको उनले बताएका छन्।
जेलरको यस्तो जवाफपछि आयोगको टोली कारागारमै पुगेको हो। जेनजी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सुरुमा नक्खु कारागारबाट रविसहितलाई भगाएका थिए। त्यसपछि देशभरबाट कैदीबन्दी फरार भएका हुन्।
फरार मध्ये चार हजार बढी कैदीबन्दी अझै फेला परेका छैनन्। रविसहित १० हजार बढीलाई भने कारागार फर्काइएको छ।
Shares

प्रतिक्रिया