भारतीय राजस्व विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)ले रिलायन्स ग्रुपका प्रमुख अनिल अम्बानी, उनका ग्रुप कम्पनीहरुको ३ हजार करोड अर्थात् ३० अर्बभन्दा बढी भारतीय रुपैयाँको सम्पत्ति जफत गरेको छ।
स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा उक्त सम्पत्ति जफत गरेको हो।
संघीय अनुसन्धान संस्थाले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनअन्तर्गत अक्टोबर ३१ मा अम्बानीको पाली हिली मुम्बईको घरसहित ४२ प्रोपर्टी जफत गरेको छ। ती सबैको एकीकृत मूल्य ३० अर्ब ८३ करोड बढी हुने बताइएको छ।
दिल्लीस्थित महाराजा रणजित सिंह मार्गमा रिलायन्स सेन्टरको नाममा रहेको प्लटिङ जमिन र रिलायन्स इन्फ्रास्ट्रक्चर लिमिटेडका दिल्लीसहित नोयडा, गाजियावाद, मुम्बई, पुने, थाने, हैदराबाद, चेन्नई र इस्ट गोदावरीमा रहेका धेरै अन्य सम्पत्तिहरु पनि जफतमा परेका छन्।
ईडीले मुम्बईको चर्चगेटमा रहेको नागिन महल भवनको कार्यालयहरु, नोयडामा रहेको बीएचए मिलेनियम अपार्टमेन्ट फ्ल्याटहरु र हैदराबादमा रहेको केमस क्याप्री अपार्टमेन्टहरु पनि जफत गरेको छ।
— ED (@dir_ed) November 3, 2025ED has provisionally attaches over 42 properties of Reliance Anil Ambani Group worth more than Rs. 3,083 Crore on 31/10/2025 under the provisions of PMLA, 2002. 30 properties of Reliance Infrastructure Limited, 5 properties of Adhar Property Consultancy Private Limited, 4… pic.twitter.com/NHIRqW3bV3
ईटीभी भारतका अनुसार यसबारे अम्बानी ग्रुपले टिप्पणी गरेको छैन। रिलायन्स होम फाइनान्स लिमिटेड र रिलायन्स कमर्सियल फाइनान्स लिमिटेडले उठाएका सार्वजनिक कोषहरुको रुपान्तरण र शुद्धीकरणसँग जोडेर यसलाई हेरिएको छ।
सन् २०१७–२०१९ मा एस बैंकले होम फाइनान्स इन्स्ट्रुमेन्टहरुमा २९ अर्ब ६५ करोड लगानी गरेको थियो भने रिलायन्स कमर्सियल फाइनान्समा २० अर्ब ४५ करोड लगानी गरेको थियो। सन् २०१९ मा यो लगानी निष्क्रिय लगानीमा रुपान्तरण भएको थियो। ईडीका अनुसार रिलायन्स होम फाइनान्सको लागि त्यतिबेला १३ अर्ब ५३ करोड र रिलायन्स कमर्सियलको लागि १९ अर्ब ८४ करोड रुपैयाँ बाँकी थियो।
ईडीका अधिकारीहरुले अनुसन्धानको क्रममा यसअघिको रिलायन्स निप्पन म्युचुअल फन्डले अनिल अम्बानी ग्रुपका वित्त कम्पनीहरुमा भएको प्रत्यक्ष लगानी कानुनी रुपमा सम्भवै नभएको पाइएको बताएका छन्।
आममान्छेले म्युचुअल फन्डमा लगानी गरेको पैसा अप्रत्यक्ष रुपमा एस बैंक हुँदै अनिल अम्बानी ग्रुप कम्पनीहरुमा पुगेको आरोप छ।
ईडीले आफ्नो अनुसन्धानले अप्रत्यक्ष रुपमा एस बैंकको माध्यमबाट रिलायन्स होम र रिलायन्स कमर्सियलमा पुगेको र ती दुई कम्पनीहरुले कर्जा विस्तार गर्दै रिलायन्स अनिल अम्बानी ग्रुपका कम्पनीमा पुर्याएको पाइएको उल्लेख गरेको छ।
‘व्यावसायिक कर्जाको ठूलो हिस्सा अन्ततः रिलायन्स ग्रुप कम्पनीहरुमा पुगेको छ। ती कर्जा विस्तार गर्ने क्रममा नियन्त्रणात्मक विधिहरु असफल भएको पाइएको छ’, ईडीले भनेको छ।
यसरी अम्बानीका कम्पनीहरुलाई परीक्षण नै नगरी अत्यन्तै द्रुतगतिमा ऋण प्रक्रिया गरिएको समेत ईडीले जनाएको छ। धेरैजसो ऋणहरु आवेदनकै दिन प्रवाह गरिएको समेत ईडीले गरेको अनुसन्धानले देखाएको छ।
इृडीले रिलायन्स कम्युनिकेसन्स लिमिटेड र यससँग सम्बन्धित कम्पनीहरुतर्फ पनि कर्जा दुरुपयोगको अनुसन्धान अघि बढाएको छ। यी कम्पनीहरुले १ खर्ब ३६ अर्ब भारु भन्दा धेरै रकम सदावहार कर्जामा बदलेको आरोप छ। १ खर्ब २६ अर्बभन्दा बढी रकम सम्बन्धितहरुलाई र १८ अर्बभन्दा बढी रकम निक्षेप र सामूहिक कोषहरुमा लगानी गरी अन्ततः ग्रुप कम्पनीहरुमै ‘रि–रुटिङ’ गरिएको पाइएको छ।
अधिकारीहरुले अपराध पत्ता लगाउन अनुसन्धानलाई निरन्तरता दिएको र जफत गरिएको सम्पत्ति क्षतिपूर्ति उपलब्ध गराउन प्रयोग गरिने बताएका छन्।
अम्बानीविरुद्ध तथाकथित वित्तीय अनियमितता र रिलायन्स इन्फ्रास्ट्रक्चरसहित धेरै ग्रुप कम्पनीहरुबाट १ खर्ब ७० अर्ब भारु बढी ऋण रुपान्तरण गरेको आरोप छ। गत अगस्टमा ईडीले अम्बानीसँग यसबारे बयान लिएको थियो।
यो पनि पढ्नुहोस्–
Shares

प्रतिक्रिया