राहदानी विभागले भोलि (कात्तिक १७) देखि दैनिक एक हजारको संख्यामा मात्रै राहदानी दिने भएको छ।
विभागले आइतबार सूचना प्रकाशित गरी हाललाई अर्को व्यवस्था नभएसम्मका सो संख्यामा मात्रै राहदानी दिने जानकारी दिएको हो।
यो अवधिमा अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन गर्न पनि विभागले आग्रह गरेको छ।
राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउन महिनामा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौता अनुसार आगामी फागुन ११ बाट राहदानी सेवा शुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण सम्बन्धी कार्य भइरहेको जनाएको छ।
‘नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने ह्यान्डओभर–टेकओभर’ को अवस्थामा उत्पन्न हुने सङ्क्रमणकालीन अवस्था तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको छ’ विभागले भनेको छ, ‘उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको छ।’
साथै, राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्नुहुन र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहनु हुन समेत विभागले अनुरोध गरेको छ।

Shares

प्रतिक्रिया