समाज


तीन दिनपछि बीपी राजमार्गमा गाडी चल्न थाले

तीन दिनपछि बीपी राजमार्गमा गाडी चल्न थाले

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १२:२१, काठमाडौँ

बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्गमा आजदेखि गाडी चल्न थालेका छन्। 

बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो हटाएपछि बीपी राजमार्गमा गाडी चल्न थालेका हुन्। 

पहिरो हटाइएको र लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए। 

काभ्रेको रोशी गाउँपालिका-८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग गाडी चलन थालेका हुन्। 

सुक्खा पहिरोका कारण डाइभर्सन तथा अवरोध हटाउन केही समस्या भएको इञ्जिनियर योगेशले जानकारी दिए। यस्तै, रोशी(१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन गाह्रो भएको थियो। ‘सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ,’ उनले भने। 

यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा-नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। 

सडक माथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको थियो। 

बिहीबारदेखिको अविरल वर्षाले नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा, बिरुवाडाँडा डालाबेँसी, नार्के, चारसयबेँसी, घुमाउनेलगायत स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर राजमार्गका विभिन्न भाग अवरुद्ध भएका थिए। यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण पटकपटक सवारी सञ्चालनमा रोक लगाइँदै आइएको थियो। 

गत वर्षको असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो। ‘सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो,’ उनले भने। 

बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो। 

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा प्रक्रियामा अघि बढाइएको जनाएको छ। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad