समाज


धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु

दुर्घटनामा बुवाआमाकै मृत्यु हुँदा छोराछोरी गम्भीर घाइते
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ८:९, काठमाडौँ

धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा पतिपत्नीकै मृत्यु हुँदा उनीहरूका छोराछोरी भने गम्भीर घाइते भएका छन्। 

शनिबार साँझ सात बजेतिर विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले जानकारी दिए। 

पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ वीरेन्द्र बजारमा दुर्घटना भएको हो।

‘दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका- ४ भरतपुरका अन्दाजी ४० वर्षीय रमेश मगर, उनकी पत्नी ३५ वर्षीया निशा मगर र रमेशका भाइ ३५ वर्षीय शम्भु मगर र अटोरिक्सा चालक सोही ठाउँका ४० वर्षीय डम्बर राईको मृत्यु भएको हो,’ डीएसपी बमले नेपालखबरसँग भने, ‘दुर्घटनामा ज्यान गुमाउने रमेश र निशाका छोराछोरी गम्भीर घाइते छन्।’

दुर्घटनामा गम्भीर घाइते भएका नौ वर्षीय रोशन मगर र उनकी दिदी १४ वर्षीया शीतल मगरको  जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बस चालकलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad