समाज


बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १४:४२, गलकोट

काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ। स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रुपमा सेवा पाउन सकेका छैनन्। अस्थायी रुपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ।  

तङ्ग्रामको धाकखोलामा गत वर्ष जग्गा व्यवस्थापनपछि निर्माण थालिएको भवन अधुरै रहेको छ। अहिलेसम्म तङ्ग्राम स्वास्थ्यचौकीको आफ्नै भवन नहुनु दुःखद रहेको भन्दै स्थानीयको अगुवाइमा धाकखोलामा सात रोपनी जग्गा व्यवस्थापनपछि निर्माण थालिएको भवन निर्माण अलपत्र जस्तै बनेको हो। 

गाउँपालिकाका अध्यक्ष राजु थापाको समन्वयमा रु सात लाख र तङ्ग्रामकै पूर्ववडाध्यक्ष केशव थापाको व्यक्तिगत रु तीन लाख गरी रु १० लाखमा जग्गा खरिद गरेर सङ्घीय सरकारको रु ३८ लाखमा भवन निर्माण थालिए पनि गत असारदेखि काम ठप्प छभने भवन अहिले अलपत्र जस्तै देखिएको छ। 

सङ्घीय सरकारको रु ३८ लाख लागतमा उपभोक्ता समितिमार्फत भवन निर्माण थाले पनि गत वर्ष चैतमा मात्रै गाउँपालिकासँग सम्झौता गर्दा पूरै बजेटसमेत खर्च गर्न नसक्दा समस्या भएको जग्गा व्यवस्थापक तथा पूर्ववडाध्यक्ष थापाले जानकारी दिए। स्वास्थ्यचौकी नबन्दा थापाले जनताको सेवाका लागि आफ्नो कार्यकालमा रु ३३ लाख खर्चेर निर्माण गरेको पाहुनाघरमा स्वास्थ्य चौकीको सेवा प्रवाह भइरहेको जानकारी दिए। 

विसं २०८१ चैत ३१ गते सम्झौता भएर असारमा काम सक्नुपर्ने भएकाले रु ३८ लाख बजेटमा जम्मा रु ३३ लाख ६५ हजार मात्रै खर्च भएको थापाले बताए। 

'काठखोलामा आफ्नै स्वास्थ्यचौकी नभएको तङ्ग्राममा मात्रै हो, त्यसैले जसरी पनि स्वास्थ्यचौकी बनाउनुपर्छ भनेर लागियो, १० लाखमा सात रोपनी जग्गा मेरै अगुवाइमा व्यवस्थापन भयो, तर सङ्घीय सरकारले स्वास्थ्यचौकी निर्माणका लागि पठाएको बजेट गाउँपालिकाले ढिलो सम्झौता गर्दा सबै बजेट कार्यान्वयन भएन', थापाले भने, 'तङ्ग्राम ठूलो गाउँमा आफू वडाध्यक्ष हुँदा निर्माण गरेको पाहुना घरमा स्वास्थ्य चौकीको सेवा दिइरहेका छौँ, यसअघि सामुदायिक भवनमा थियो, गाउँपालिकाले समेत यस वर्ष बजेट विनियोजन नगर्दा स्वास्थ्यचौकी भवन अलपत्र पर्‍यो  ।' 

गाउँपालिकाले ठेक्कामा लैजाने भन्दै रोकेर गत चैत ३१ गते उपभोक्ता समितिलाई सम्झौता गर्दा रात दिन लगाएर तीन महिनामा एक तला पक्की र एक तला जस्ताले छाए पनि अन्य काम गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष दीपक परियारले जानकारी दिए। 

चालु आर्थिक वर्षमा गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारबाट बजेट व्यवस्थापन नभएकाले स्वास्थ्यचौकी भवन यस वर्षसमेत अधुरै हुने देखिएको छ। गाउँपालिका अध्यक्ष थापाले प्रदेश सरकार र सङ्घीय सरकारबाट बजेट आउने आशा भए पनि आउन नसक्दा काम अधुरै रहेको बताए। उनले प्रदेश सरकारमा अझै पहलकदमी भइरहेको र चालु आर्थिक वर्षमा बजेट नआउने देखिएमा गाउँपालिकाले हिउँदे सभाबाट भए पनि बजेट संशोधन गरेर स्वास्थ्यचौकीको भवन पूरा गर्ने प्रतिबद्धता जनाए। 

स्वास्थ्य चौकीको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा चुनौती भएको तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीका प्रमुख गणेश शर्माले जानकारी दिए। स्वास्थ्य केन्द्रमा अहिले बर्थिङ सेन्टर र प्रयोगशालासमेत सञ्चालनमा छ। पाहुना घर सञ्चालनका लागि ल्याइएका लाखौँका सामग्रीसमेत अहिले प्रयोगविहीन भएका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad