रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पालिकाको केन्द्र मौवाफाँट जोड्ने छोटो दुरीको सडक ट्रयाक (मार्ग) खुलेको १२ वर्षपछि यातायात सञ्चालनमा आएको छ।
भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट देखि गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने यो सडकको विसं २०७० मा मार्ग खुलेको थियो।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राहुघाट–मौवाफाँट सडक मर्मत र स्तरोन्नती गरेपछि हलुका सवारी साधन सञ्चालन हुन थालेका बताए। 'झण्डै १२ वर्षअघि ट्रयाक खुले पनि मर्मत र स्तरोन्नतीको अभावमा यो सडक प्रयोगमा आउन सकेको थिएन,' उनले भने, 'तीन दशमलब पाँच किलोमिटर दुरीको यो सडकमा जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन्।'
हाल प्रयोग भइरहेको घुमाउनेताल–पिप्ले–मौवाफाँटको वैकल्पिक यो सडक आधाभन्दा बढी छोटो दुरीको छ। करिब ३० मिनेटको यात्रा अवधि १० मिनेटमा छोटिएको छ। यो सडकले रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटका साथै ४, ७ र ८ नम्बर वडाका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ।
सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराले आर्थिक वर्ष २०८१÷८२ मा रु ४० लाखको लागतमा राहुघाटदेखि दशमुरे मौवाफाँट जोड्ने यो सडकमा मर्मत गरेको हो। श्रमजिवी निर्माण सेवाले ठेक्का लिएको यो सडकमार्फत विभिन्न ठाउँमा ग्याबिन जाली र मेसिनरी पर्खाल बनाएर फराकिलो पार्नुका साथै अप्ठ्यारो ठाउँमा ढलान भएको छ।
Shares

प्रतिक्रिया