नेपाल पत्रकार महासंघले पेसागत धर्म निर्वाह गर्दा पत्रकार मनोजकुमार माझी र अनिश शेखलाई सप्तरीमा गरिएको दुर्व्यवहार र काममा अवरोध पुर्याइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ सप्तरी शाखाका अनुसार यही असोज २७ गते जग्गाको बारेमा अदालतको फैसला कार्यान्वयनमा प्रहरीको प्रयासका सम्बन्धमा समाचार संकलन गरिरहेका पत्रकार माझीलाई स्थानीय व्यक्तिहरुले दुर्व्यवहार र हातपात गरेका छन्।
यस्तै, तलब नपाएको विषयमा कंचनरुप नगरपालिकाका जनप्रतिनिधि र शिक्षकहरुबीच भएको वार्ताको समाचार संकलन गरिरहेका बेला पत्रकार शेखलाई नगरप्रमुख ललनप्रसाद गुप्ता स्वयमले दुर्व्यवहार गर्नुका साथै नगर प्रहरी लगाएर फोटो तथा भिडिओ डिलिट गराउन लगाए।
महासंघका महासचिव रामप्रसाद दाहालले दुबै घटनाको निन्दा र भर्त्सना गरेका छन्।
आज जारी विज्ञप्तिमा महासंघले दोषीलाई कानुनी कठघरामा ल्याउन र बिना त्रास पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ।
Shares

प्रतिक्रिया